भूपेन्द्रविक्रम थापा
बाह्रबिसे नगरपालिका, वडा नं. ९, सिन्धुपाल्चोक स्थायी ठेगाना भएकी २९ वर्षकी सावित्री चालिसेको २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा मृत्यु भयो । मृत्यु भएको आधिकारिक रुपमा घोषणा भएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट मृतकको फोटोसहित श्रद्धाञ्जली र समवेदना व्यक्त गर्नेको भीड देखियो । सायद सबैले यो दुःखद् क्षणमा श्रद्धाञ्जली र समवेदना प्रकट गरेका होलान् तर मृतकका श्रीमानले यस्ता पोष्टले झन् दुःखित बनाएको भन्ने प्रतिक्रिया दिए पश्चात् धेरैले यस्ता पोष्टहरु हटाए ।
आ–आफ्नै खाले विश्लेषण, निष्कर्ष र भविष्यवाण्ी गर्नेहरुको कमी देखिएन । यसैलाई आधार मानेर हरेक व्यक्ति सबै विषयका ज्ञाता हुन खोजेको र यसले समस्या निम्त्याउन सक्दछ भन्ने पोष्टहरु पनि भए । नेपालका चर्चित अनलाइन न्यूजले पनि यो समाचारलाई सत्य तथ्य आफ्नो ठाउँमा होला तर निरन्तरको अपडेट दिन भ्याए । म शिक्षा र व्यवस्थापनको विद्यार्थी तसर्थ यो घटनाबाट हामीले सिक्नुपर्ने कुरा र यसको व्यवस्थापकीय पक्षको बारेमा आफ्नो धारणा राख्ने प्रयत्न गरेको छु ।
म व्यक्तिगत रुपमा मृतकको घर र माइती पक्ष दुबैलाई राम्ररी चिन्दछु । मेरो घर र मृतक बहिनीको घरको दूरी करीब ३ सय मिटर छ । सामान्यतया मृतकका श्रीमानको परिवारको तीनपुस्ते इतिहाससँग परिचित छु ।
मृतकको श्रीमान विमल चालिसे माओवादी द्धन्द्धको अवधिमा नेपाली सेनामा जागिरे थिए, पछि छोडे र घरै बसे । केही बर्षयतादेखि काठमाडौंको गोंगबुमा श्रीमती र एक छोराका साथ बस्दै आएका उनी श्रीमती सुत्केरी भए पश्चात् गाउँको घर पुगे र केही दिनपछि श्रीमतीको उपचारको लागि धुलिखेल अस्पताल आउँदा अस्पतालमा उनको श्रीमतीको मृत्यु भयो । यी समाचारहरुको बारेमा धेरै लेखिरहनु नपर्ला । समाचारको सत्यता र यथार्थ मृतकको श्रीमानलाई बाहेक अरुलाई कम थाहा छ । मृत्युपश्चात उनको स्वास्थ्य परीक्षण भयो र मृत्युको कारण कोरोना भनियो ।
मृतकमा कोरोना संक्रमण देखियो । मृत्युअघि शंका गरिएन र परीक्षण पनि भएन । सुत्केरी महिलाको मृत्यु हुनुअघि उनीहरुको बारेमा सरकारलाई चासो थिएन । मृत्युअघि नजिकको छिमेकीको हिसावले मैले पनि एक कल फोन गरिनँ । सायद कसैले पनि गरेन । मैले घटनाअघि फोन गरेर कहाँ बस्छौ ? बसाई व्यवस्थापन कस्तो छ ? सन्चो विसन्चो के छ ? मैले सोधिनँ । मृत्युको घटनापछि भने मृतकको श्रीमानसँग फोनमा कुरा भयो । मृतकका श्रीमानलाई पत्रकार, सञ्चार माध्यम, नेता, मन्त्री आदिले फोन गरेर सूचना लिए र सोही अनुसार प्रसारण पनि गरे ।
चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रममा रवि लामिछानेले मृतकका श्रीमानसँग सम्पर्क गरे र उनको कुरा जस्ताको तस्तै प्रसारण गरिदिए । कार्यक्रम मार्फत् उनले सञ्चारमाध्यमहरुमा आएका गलत र भ्रमपूर्ण कुराहरुबाट दुखी भएको कुरा बताए । नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले शोक व्यक्त गर्नुभयो । प्रतिपक्षी दलका नेता तथा पूर्वमन्त्रीले १० दिने शिशुको पौष्टिक आहारको व्यवस्थापनको लागि रु. ५० हजार र शिक्षा तथा रोजगारको जिम्मेवारी लिने भनि सार्वजनिक पनि गर्नुभयो । साथै मेलम्ची सिन्धुपाल्चोक स्थायी ठेगाना भएका हाल मेरिल्याण्ड अमेरिकामा बस्नुहुने दिनेश खतिवडाले रु. ५१ हजार १५१ रुपैयाँ मृतकको श्रीमानको बैंकखातामा जम्मा गरेको भौंचर फेसबुकमार्फत् जानकारी दिनुभएको छ । दाहसंस्कारमा नेपाली सेना सहभागी भयो । सुत्केरी महिलाको मृत्युमा नबोल्ने नेपाली सायदै होलान् ।
संसदमा पनि यो विषयले प्रवेश पायो । यति धेरै चर्चाको विषय बनेर पनि १० दिने शिशुदेखि परिवारजन र सम्पर्कमा आएका १ सय ४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आए पश्चात मृत्युको कारणको सत्यतामा शंका उब्जायो । उनको मृत्युको अरु कुनै कारण पनि थियो कि ? भनेर शंका गर्ने र सामाजिक सञ्जालमा लेख्ने पनि धेरै भए । मृतकका परिवार क्वारेन्टिनमा छन् । सामाजिक चलनचल्ती र संस्कार अनुसार मृतकको काजकिरिया पनि भएको छैन । परिवार यो विषयमा अन्योलमा परेको छ । समाजमा कोही कसैले यसै हो भन्न सकेका पनि छैनन् ।
सिकाई र व्यवस्थापन
१. आम जनमानसले बुझ्नुपर्ने कुरा लकडाउनका कारण मानवीयता भन्ने कुरा नै संकटमा परेको छ । कसैले चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था छ, तसर्थ सम्भव भएसम्म बसिरहेको ठाउँ लकडाउन अवधिभर नछोडौं । किनकि यो कोरोना संक्रमण आफू बाँचेर अरुलाई बचाउने तथा सावधानीपूर्वक यथास्थानमा बसेर समाज र राष्ट्रलाई सहयोग गर्ने सुनौलो अवसर पनि रहेछ । सुरक्षा, सहुलियत, सहयोग, स्रोतसाधनको उपलब्धता, सहकार्य जस्ता विविध बाहनामा एकठाउँबाट अर्को ठाउँ जानपर्दा कम्तीमा बसिरहेको र जान लागेको स्थानीय निकायलाई जानकारी दिएर वा स्वीकृति लिएर हिड्दा धेरै राम्रो । यो नियम मान्ने हो भने आफ्नो यात्रा सहज हुन्छ र समस्यामा पर्दा सहयोग जुटाउन सजिलो हुन्छ । सरकारलाई जवाफदेही बनाउन हामीले पनि जान्नुपर्दछ ।
२. यो घटनालाई शंकाको दायरामा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले गरेर कोरोना बाहेक पनि सम्भव भएसम्मको सबै परीक्षण गरिदिएको भए राम्रो हुने थियो । संक्रमण र मृत्यु अध्ययनबाट हाम्रो परिवेशको निष्कर्ष निकाल्न सकिन्थ्यो होला । अब हामी यसै घटनाबाट सिकेर सोध र अनुसन्धानमा लाग्नुपर्ने देखियो । यो विषयका विज्ञहरु अध्ययन र अनुसन्धानमा लाग्न नेपाल सरकारले व्यवस्थापन गरिदिनुपर्दछ । सिन्धुपाल्चोकमा कोरोना संक्रमण यसअघि पनि देखिएको थिएन र पछि पनि अहिलेसम्म प्रमाणित हुनसकेको छैन । तसर्थ कन्ट्याक ट्रेसिङमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
३. हाम्रो तयारी मृत्युबाट बच्नेमा केन्द्रित भयो । उपचार त सम्भव भएन तर मृत्यु भैहाल्यो भने के गर्ने ? मृतक, मृतकको परिवार, परिवारको आश्रित सदस्यहरुको व्यवस्थापन र भविष्यको बारेमा हामीसँग योजना रहेनछ यसको बारेमा सोच्नुपर्ने देखियो । यस्तो तयारी यो कोरोनाको लागि मात्रै होइन, सबै प्रकारका महामारीको समाधान र व्यवस्थापन गर्न तीनै तहको सरकारसँग स्थायी प्रकृतिको स्रोतसाधन सम्पन्न संयन्त्र हुनुपर्दछ ।
४. मृत्यु संस्कार हरेक व्यक्तिले अवलम्बन गरेको धार्मिक दर्शन र दृष्टिकोणबाट फरक–फरक हुन्छ अनि यसको छुट्टै सामाजिक महत्व पनि छ । कोरोना संक्रमणको त्रासले यो पक्षलाई वास्ता गरिएन । मृत्यु संस्कारलाई विधिवत रुपमा पूरा गर्न नपाएका कारण परिवार र समाजमा पर्नसक्ने असरको बारेमा हामीले कुनै पूर्व तयारी गरेका रहेनछौ तसर्थ हरेक धर्मका आधिकारिक निकायहरुले नेपाल सरकार तथा अन्य आवश्यक निकायहरुसँग समन्वय गरी यो विषयमा एउटा निष्कर्ष दिनुपर्ने देखियो ।
५. आफूमा भएको सूचनासँग मेल नखाने सूचना फेला प¥यो भने गलत भन्ने हामी अधिकांशमा एउटा मनोरोग देखियो । सूचनालाई नै ज्ञान मान्ने कारणले हामी बढी लेख्ने र बढी बोल्ने भएछौं । अध्ययन र अनुसन्धानको संस्कार सरकारदेखि हामी जनतासम्ममा पनि रहेनछ । अध्ययन र अनुसन्धानको निष्कर्ष, विशेषज्ञ व्यक्तिहरुबाट अभिव्यक्त विचार र आधिकारिक समाचारको स्रोतहरुबाट सूचनाको संकलन गरेपछि मात्रै आफ्नो विचार व्यक्त गर्ने बानीको विकास हामीले गर्नुपर्ने महत्वपूर्ण शिक्षा यो घटनाले दिएको छ ।
६.सञ्चार माध्यमहरुले सूचनाको बाढी सृजना गर्नुको सट्टा सत्यतथ्य समाचार र आधिकारिक स्रोतको बारेमा विचार पु¥याउनुपर्ने भयो । समाचारलाई संख्यात्मक रुपमा भन्दा पनि गुणात्मक रुपमा अनि सञ्चार माध्यमको पहुँच नभएको क्षेत्रका जनतालाई यस्ता समाचार कसरी पु¥याउने भन्नेमा केन्द्रित हुनसके सबैलाई सुसूचित गर्न सकिन्थ्यो भन्ने शिक्षा पनि दियो । यस्ता समाचारको आधिकारिकताको लागि स्पष्ट रुपमा स्रोत खुलाउनु जरुरी हुन्छ ।
७. सामाजिक सञ्जालमा आवद्ध व्यक्तिहरु आधिकारिक र जिम्मेवार पत्रकार झैं समाचार सम्प्रेषण गर्नमा केन्द्रित हुनाले पनि सूचना प्राप्त गर्ने व्यक्तिहरुमा नकारात्मक असर पर्दोरहेछ । यही घटनाको सन्दर्भमा मृतकका ११ वर्षे छोरा घरमा छन् । उपचारका लागि भनेर आमालाई अस्पताल लगिएको तीन घण्टा पनि वित्न नपाउँदै मोवाइल खेलाउँदै गर्दा मृत्युको खबर हेर्न र पढ्नुपर्दा बालमष्तिष्कमा कस्तो असर प¥यो होला, हामी कसैले ख्याल गरेनौं । तसर्थ जथाभावी पोष्ट गर्नुभन्दा पहिले सोचेर मात्र पोष्ट गरौं । मनगढन्ते पोष्ट गरेर लाइक, कमेन्ट र शेयर बढाउने युटुवरहरु पनि यस्ता मानवीय समवेदनासँग जोडिएको कुरामा सचेत हुन जरुरी छ ।
८. संघीय सरकार र प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय निकायले वडावडाबाट नागरिक सूचना अद्यावधिक गर्नुपर्ने जरुरी देखियो । हरेक वडालाई आफ्नो वडाको स्थायी बासिन्दाहरुको विवरणसहित ती मध्ये अस्थायी बसाईसराई गरी कहाँ बस्छन् र के पेशा गर्दछन्, आफ्नो वडामा अस्थायी रुपमा बसोबास गर्दै आएका व्यक्तिहरुको स्थायी ठेगाना कहाँ हो र अहिले वडाभित्र के गरिरहेका छन् भन्नेसम्मको विवरणहरु अद्यावधिक राखियो भने यस्ता संक्रमणको बेलामा समस्याको समाधान खोज्न सजिलो हुन्छ तसर्थ यस्ता तथ्यांक र सूचनाको व्यवस्थापनमा स्थानीय सरकार सक्रिय हुनुपर्ने देखिन्छ । व्यक्तिको तीनपुस्ते विवरण र सम्पर्क माध्यम समस्या परेपछि माग्ने होइन वडाले उपलब्ध गराउन सक्ने तयारीका साथ काम गर्नु जरुरी छ । यस्तो अभिलेख महामारीबाट बच्न मात्र होइन, सबैखाले योजना निर्माण र कार्यान्वयनको लागि महत्वपूर्ण आधार बन्दछ ।
९. कक्षा १२ सम्म निःशुल्क शिक्षा सरकारको शिक्षानीतिमा उल्लेख छ । हरेक बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने स्पष्ट व्यवस्था तथा बालबालिका टुहुरा हुनेवित्तिकै संरक्षक र दातृ निकाय खोज्नुपर्ने समस्या सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरेर स्थानीय निकायले समाधान गर्न सक्दछ । हरेक बालबालिकाको बालअधिकारको सुनिश्चितता गर्नु स्थानीय सरकारको दायित्व हो ।
१०. महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले यो महामारीको समयमा स्वास्थ्यकर्मीहरुको लागि पिपिइ र विभिन्न औजारहरुको उत्पादन गरेर सहयोग गरेको छ । अर्का एक स्वास्थ्यकर्मीले औषधि पत्ता लगाउन अनुसनधान गरिरहेको समाचार बाहिर आएको छ । सरकारले यस्ता अनुसन्धान र आविस्कारमा लगानी बढाउन सक्यो भने भविष्यमा आइपर्ने यस्तै संक्रमणको व्यवस्थपनमा हामीलाई सयोग हुनेछ ।
११. राज्यसत्ता सञ्चालन तथा सरकारी संयन्त्र अविछिन्न रहन्छ र सरकार सञ्चालन गर्ने पार्टी र पात्रमात्र परिवर्तन हुने हो । पद्धति व्यवस्थित र सुदृढ गर्ने तथा सृजना गर्ने र निरन्तरता दिने जस्ता काममा सर्वसहमति र हातेमालोको संस्कार सृजना गर्नु जरुरी छ । सकारात्मक पक्षको पहिचान र विकासले नकारात्मक पक्ष विस्तारै कम हुँदै जाने भएकाले सरकार र प्रतिपक्ष दुबैले यस्तो समस्याको समयमा मात्र होइन, सबै प्रकारका विकास निर्माण, मानवीयता र राष्ट्रियताको विषयमा हातेमालो गर्नुपर्दछ । राजनैतिक दर्शन दृष्टिकोण फरक भएकाले खोजेको जस्तो सतप्रतिसत समानता हुँदैन भन्ने बुझेर सहयोगीको भूमिका निर्वाह गर्ने पात्रता सबै राजनीतिकर्मीमा हुनुपर्दछ । स्थानीय निकायको स्वामित्वमा राहत कोष र सहयोगी निकायले त्यसै कोषमार्फत् एकद्वार प्रणाली अपनाई गर्ने र हरेक पीडितले राहत पाउने पद्धतिको विकास जरुरी देखियो ।
म फेरि पनि उल्लेख गर्न चाहन्छु, म यो रोगसँग सम्बन्धित विशेषज्ञ होइन र कुनै पनि तहको सरकारको जननिर्वाचित प्रतिनिधि पनि होइन, यद्यपि म पढ्ने–पढाउने र संस्थागत व्यवस्थापनमा सिक्ने–सिकाउने काममा लागिरहेको हुनाले यो घटनालाई सिकाइ र व्यवस्थापनको दृष्टिकोणबाट हेर्ने प्रयत्न गरेको छु । यो लेख तयार गर्नुभन्दा पहिले विभिन्न टेलिभिजमा समाचारहरु हेरेँ, उत्कृष्ट दश अनलाइन समाचार माध्यमहरुमा प्रकाशन भएका समाचारहरु पढें, मृतकका श्रीमान लगायत घटनास्थल पुग्ने र घटनासँग जोडिएका धेरैसँग टेलिफोन सम्पर्क गरें । मृतकको भर्खर जन्मिएको छोरालाई सहयोगको घोषणा गर्ने पूर्वमन्त्री जिल्लाबासी मोहनबहादुर बस्नेतलाई टेलिफोनबाटै सहयोग तपाईको मनखुसी हो कि मृतकको श्रीमानसँग स्वीकृति लिएर सार्वजनिक गरेको भनेर सोधें, स्वास्थ्य मन्त्रालयका विज्ञप्तिहरु हेरेँ । म घटना भएको धेरै समयपश्चात आफ्ना धारणा सिकाइ र व्यवस्थापनको दृष्टिकोणबाट सार्वजनिक गर्दैछु किनकि मेरो अनुभवले यो भन्दा बाहेक अरु क्षेत्रमा बैचारिक अभिव्यक्तिको क्षमता राख्दैन ।
अन्तमा, कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको भनिएकी बाह्रबिसे नगरपालिका वडा नं ९ स्थायी घर भएकी बहिनी सावित्री चालिसेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना । संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा अन्य सबै सहयोगी हातहरुलाई धन्यवाद । हरेक घटनालाई सुक्ष्म ढंगबाट अध्यन गरौं, सिकौं र दीघैकालीन व्यवस्थापनमा लागौं । सुरक्षित बसौं । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन र अनुरोधलाई पालना गरौं । यो पहिलो मृत्यु भनिएको छ, अन्तिम होइन ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend