काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ३ महिनामात्र कार्यकाल बाँकी रहेका विवादास्पद डाक्टर आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका छन् । स्वास्थ्य मन्त्रालयले आजै उनलाई महानिर्देशकको पत्र दिएको छ ।
१२ औैं तहका डा. दीपेन्द्ररमण सिंहलाई मन्त्रालयमा तानी ११ तहका पनि २० औं बरियताभन्दा मुनि रहेका बिच्छालाई विभागको महानिर्देशक बनाइएको छ । १२ औं तहमा बिच्छाभन्दा २० जना बरिष्ट छन् । तर ३ मनिामात्र बाँकी रहेका बिच्छालाई महानिर्देशक बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाकै दबाबले काम गरेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । डा. बिच्छा स्वास्थ्य अन्तर्गतका जुन ठाउँमा पनि अनियमिततामा बदनाम मानिन्छन् ।
स्वास्थ्य मन्त्रालयबाट तीन महिनाको बीचमा ५ अर्ब रुपैयाँको खोप खरिद गर्ने र त्यसबाट १० प्रतिशत कमिसन कमिसन आउँदा पनि ५० करोड हुने प्रलोभन डा. बिच्छाले आरजुलाईश देखाएकै कारण उनले चर्को दबाब दिएर अवकाशको मुखमा महानिर्देशक बनाइएको चर्चा स्वास्थ्य क्षेत्रमा छ । ५० करोड कमिसन आउने र त्यसले नेपाली कांग्रेसको महाधिवेशनमा पार्टी कब्जा गर्र्न सहज हुने निष्कर्षका साथ आरजुले डा. बिच्छालाई महानिर्देशक बनाएको स्रोत बताउँछ । स्वास्थ्यमा अरबौंको खोप खरिदमा हुने चलखेलकै लागि आरजुले राज्यमन्त्रीमा आरजुले आफ्ना ब्यापारिक साझेदार उमेश श्रेष्ठलाई नियुक्ति गराएको खुलासा भइसकेको छ ।
उमेश श्रेष्ठ राज्यमन्त्री नियुक्त भएपछि श्रीमती आरजुले स्वास्थ्य अन्तर्गतका महानिर्देशकदेखि विभिन्न निकायमा सरुवा गर्न दबाब दिन थालेकी छन् । डा. बिच्छा २०७८ कात्तिक ६ गते अवकाश हुँदैछन् । यसबीचमा खोप खरिद गर्ने र त्यसबाट कमिसन लिई बुझाउने सर्तनामा गरी उनी महानिर्देशक भएको स्रोतको दाबी छ ।
सामान्यतया एक बर्ष जागिर अवधि रहेकालाई महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन छैन । अवकाश हुने बेलामा महत्वपूर्ण जिम्मेवारी दिएमा अनियमितता गर्ने संभावनालाई मध्यनजर राखेरै यस्तो परम्परा कायम हुँदैआएको छ । तर शेरबहादुर देउवा श्रीमती आरजु र साला भूषण राणाको दबाबमा परी १२ औं तहका बरिष्ठ चिकित्सकलाई हटाएर ३ महिनामात्र कार्यकाल बाँकी रहेका डा. बिच्छालाई खोप खरिदमा हुने कमिसनकै लागि महानिर्देशकजस्तो महत्वपूर्ण जिम्मेवारी दिएको आरोप छ ।
डा. बिच्छा को हुन् ?
डा.आरपी बिच्छा कान्ति बाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् । कोरोनाका बिरामीको उपचारका लागि कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि काठमाडौं महानगरपालिकाले अनुदान दिएको २ करोड रुपैयाँमा डा. बिच्छाले २० प्रतिशत घुस मागेपछि अहिलेसम्म पनि जडान हुन सकेको छैन । अक्सिजन प्लान्ट राख्नका लागि ठेक्का पाएका डाइग्नोकेम इन्टरनेशनलका संचालक विज्ञान शर्माले ५ प्रतिशतमात्र मुनाफा राखी कम दरमा बोलपत्र पेश गरेकाले २० प्रतिशत कमिसन दिन नसक्ने भनेपछि उनले जडान नै गर्न दिएका छैनन् ।
काठमाडौं महानगरपालिका र कान्ति बाल अस्पतालबीच अक्सिजन प्लान्ट राख्नका लागि मेयर शाक्यले नगरसभाबाट दुई करोड विनियोजन गर्ने निर्णय गरेका थिए । र, २०७६ कात्तिक २२ मा अक्सिजन प्लान्ट राख्नका लागि कान्ति बाल अस्पताललाई २ करोड रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो । तर २०७८ साउनसम्म पनि अक्सिजन प्लान्ट जडान हुनसकेको छैन । निर्देशक बिच्छाले घुस मागेकै कारण अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । कान्ति बाल अस्पतालका सूचना अधिकारी डा. रमेशनरसिंह केसीले अक्सिजन प्लान्ट नडान हुन नसकेको बताए ।