Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाले पर्यटन क्षेत्रमा निम्त्याएको संकट र समाधानका उपाय 


    आइतबार, जेष्ठ ४ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १० मिनेट पाठ
  •      अन्ततः कोभिड–१९ ले नेपाललाई पनि छोएरै छाड्यो । सिङ्गो संसार नै एउटा ‘ग्लोबल भिलेज‘को रूपमा विकसित भएको वर्तमान परिप्रेक्षमा नेपाल अछुतो रहने संभावना थिएन । किन्तु यति लामो समयसम्म बन्दक बनाउला भन्ने हामीले अनुमान गरेका थिएनौँ । यो अदृश्य अर्धजीवको साम्राज्यका कारण यति चलायमान विश्व आज सुनसान बनेको छ । नेपालमा सुरुको अवस्थामा संक्रमितको संख्या कम देखिए पनि पछिल्लो अवस्थामा बढ्दो क्रममा छ । यसले अझै कहालीलाग्दो रुप नलेला भन्न सकिँदैन । विश्व स्वास्थ्य संगठनको १४ ‘मे’ सम्मको तथ्यांक अनुसार विश्वका २ सय १६ देशमा सङ्क्रमित हुनेको संख्या ४२ लाख १८ हजार २ सय १२ छ । कोरोना भाइरस संक्रमणबाट २ लाख ९० हजार २ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् । 

        आज कोरोनाकै कारणले प्रभावित नभएको विश्वको कुनै त्यस्तो क्षेत्र नै छैन । यस पृष्ठभूमिमा नेपालको पर्यटन क्षेत्र त झनै अछुतो रहने कुरै भएन । पर्यटन व्यवसाय आफैँमा संवेदनशील क्षेत्र हो । नेपालको सन्दर्भमा त झनै संवेदनशील व्यवसायको रूपमा परिचित छ । आन्तरिक र बाह्य राजनीतिले समेत प्रभाव पर्ने नेपालको पर्यटन बेलाबखत हुने गरेका दैवी प्रकोपका कारणले थिलथिलो हुँदै आएको थियो । पछिल्लो अवस्थामा कोभिड–१९ को महामारी ले त पर्यटनलाई उठ्नै नसक्नेगरी थला पारेको छ । 

        नेपाल भम्रण वर्ष २०२० को सुरुवातमै सम्पूर्ण पर्यटकीय गतिविधि शून्य हुन पुग्नु हामी व्यवसायीहरूका लागि दुर्भाग्य थियो । नेपालको लगभग ८० प्रतिशत पर्यटन बजार विदेशी पर्यटकसँग आश्रित छ । वर्षभरिमा १२ लाखको हाराहारीमा पर्यटक भित्र्याउने नेपालले पूर्ववतः अवस्थामा फर्कन लामै समय धैर्य गर्नुको विकल्प छैन । विगतका महामारीहरूमा पनि व्यवसायको स्थिति सुध्रन दुई वर्षसम्म लागेको इतिहास साक्षी छ । यतिबेला नेपालका पर्यटन व्यवसायीहरूका सामु मूलतः दुईवटा चुनौती देखापरेका छन् । ती हुन्ः

        १) व्यवसायको अस्तित्व जोगाउने र,
        २) पर्यटनमा संलग्न लाखौँ मजदुरहरूलाई बचाउने 

        कोरोना नियन्त्रण हुन कति समय लाग्ने हो भन्ने कुरा अनुमान विश्व स्वास्थ्य संगठनले गर्न नसकेको स्थितिमा नेपालको पर्यटन व्यवसाय तङ्ग्रन कति समय लाग्छ भन्ने एकीन गर्न सकिन्न । यस अर्थमा पर्यटन व्यवसायी र मजदुरका लागि आगामी दिन अति कस्टकर हुने कुरा प्रस्ट छ ।

        पर्यटन ब्यवसायमा मुख्यतः साना÷मझौला, मध्यम र ठूला लगानीकर्ताहरु छन् । नेपाल सरकारले पर्यटनलाई एक महत्वपूर्ण आर्थिक उपार्जन गर्ने क्षेत्रको रुपमा परिभाषित गरेता पनि यस अनुरुपको व्यवहार गरेको पाइँदैन । समग्र पर्यटन क्षेत्रलाई वर्तमान त्रासदिपूर्ण अवस्थाबाट बाहिर निकाल्न सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नु नै आजको आवश्यकता हो । दुवै पक्षको आ–आफ्नो जिम्मेवारी हुन्छ । ठूला होटेलहरु विदेशी कम्पनीहरुसँगको सहकार्यमा सन्चालित छन् र उनीहरुमा सरकारको नजर पनि सजिलै पर्ने गरेको पाइन्छ । साना-मझौला र मध्यम लगानीकर्ताहरु जसले ५ लाखदेखि २५ करोडसम्मको लगानी गरेका छन् । उनीहरु बहुसंख्यक बैङ्क ऋणबाट नै चलेका छन् । नेपाल भम्रण वर्षमा अत्यधिक पर्यटक भित्रिन्छन्, व्यापार स्वतः बढ्छ भन्ने आशामा जोखिम उठाउने लगानीकर्ताहरु कोरोना महामारीबाट घर न घाट हुने अवस्थामा पुगेका छन् । यस्ता खालका होटेल, ट्राभल, ट्रेकिङ, राफ्टिङलगायतका व्यवसायमा कार्यरत मजदुरहरुको संख्या ७० प्रतिशतको हाराहारीमा छ । यी व्यवसायीहरूमध्ये ८० प्रतिशतभन्दा बढीले अर्काको घर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । आजको मुख्य चुनौती नै यो वर्गको लगानी एवम् उनीहरुले सिर्जना गरेका रोजगारीलाई कसरी संरक्षण गर्ने भन्ने नै हो । 

        व्यापार शून्यः व्यवसायीहरूले कसरी घरभाडा बुझाउने ? 

        सरकार भन्छ कर्मचारी निकाल्न पाइन्न भनेर ।  यतिबेला हामी जटिल समस्याको भूमरीमा छौँ । पर्यटनलाई ब्यूँताउनका लागि सरकारको भूमिका नरहे व्यवसायी आफैँ आफ्नो व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेका छौँ । यो अवस्थामा कर्मचारी निकालिरहनुपर्ला र ? 

        अर्थमन्त्री भन्नुहुन्छ–‘कर तिरेका आधारमा राज्यको सहयोग हुन्छ ।’ अब के डुबेर रसातलमा पुगिसकेका व्यवसायीहरूलाई उठ्न नदिन खोजेको हो त ? यसले हाम्रासामु गम्भीर प्रश्न खडा गरेको छ । सबैखाले लगानीकर्ताप्रति सरकारको ध्यान पुग्न जरुरी छ । साना सधैँ साना रहिरहन्न, सानोबाट सुरु भएका कैयाँै व्यवसायीक संस्थाहरु ठूला बनेका यथेष्ट उदाहरणहरू छन् । कम्तीमा पनि सरकारले सबैको लगानीको सुरक्षाको ग्यरेन्टी लिन सक्नुपर्छ, लगानीकर्तालाई धैर्य नगुमाउन हौसला प्रदान गर्नुपर्छ । यसर्थ सरकार हुनुको नाताले कसैलाई पनि  विभेद गर्ने छुट छैन ।

    सरकारसँग के चाहन्छन् त पर्यटन व्यवसायीहरू ? 

        सरकारले आफ्ना समस्या सुनोस् र बुझोस् भन्ने आशा व्यवसायीहरुको छ । पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका तर्फबाट सरकारसित भ्याट र करमा छुट दिनुपर्ने माग गरेको सुनिन्छ । व्यवसाय जोगाउनका लागि यतिले मात्र पनि पर्याप्त हुँदैन । व्यापार नै नभएको अवस्थामा राजस्वमा छुट दिए पनि त्यसको के अर्थ ?  आजको टड्कारो आवश्यकता भनेको यस क्षेत्रको लगानी जोगाउनु र रोजगारी बचाउनु नै हो । जसका लागि पर्यटन क्षेत्र लक्षित सरकारी राहत नै हो । पर्यटकको आगमन हुन लाग्ने अनुमानित समय कम्तीमा अठार महिनासम्मका लागि व्यवसायीले बैङ्कसित लिएका सम्पूर्ण साँवालाई थाँती राखी ब्याज होल्ड गर्ने व्यवस्था गरिनुपर्छ । उक्त होल्ड अवधिको सम्पूर्ण कर्जाको म्याद थप गरी पछि भुक्तानी गर्ने व्यवस्था गरिनुपर्दछ ।

    आगामी डेढ बर्ष कुनै पनि व्यवसायीले कहीँ कतै रकम भुक्तानी गर्नसक्ने अवस्था छैन । हिजो व्यापार हुँदाको बैङ्किङ कारोवार एवम् व्यवसायमा लगानी गरेको रेपुटेसनका आधारमा साना लगानीलाई बीस लाखदेखि मध्यम लागानीकर्तालाई दुई करोडसम्मको थप ऋण दिनुपर्छ । ठूलाका हकमा उनीहरुको मागका आधारमा दिने व्यवस्था गर्नुपर्छ । घरबहाल छुटका लागि पनि सरकारले पहल गरिदिनुपर्छ । व्यापार हुँदा महिनौंको बहाल अग्रिम भुक्तानी भाडा लिने बानी परेका घरधनीहरुले केही समय धैर्य गर्नैपर्ने हुन्छ । उनीहरुले पनि भाडाबाट बैङ्कलाई मासिक बुझाउनुपर्ने छ भने बैङ्कले होल्ड गरिदिनुपर्छ । पर्यटकको आगमन नहुन्जेल घरभाडामा पनि सहुलियतको व्यवस्था हुनुपर्छ ।

    सरकारको राहत प्याकेजमा कृषि क्षेत्रलाई झैँ पर्यटनलाई पनि ४ प्रतिशत ब्याज दरमा ऋण दिने प्रवन्ध मिलाउनुपर्छ । कृषिमा लगानी गर्छु भन्दा चार प्रतिशत ब्याजमा ऋण प्राप्त हुने तर विदेशी मुद्रा भित्र्याउने र सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्दा सहुलियत प्राप्त नहुने विभेदकारी नीतिको परिवर्तन नै व्यवसायीहरुको माग हो । सहुलियत दरमा ऋण देऊ र ऋण तिर्ने अबधि थपिदेऊ भन्ने व्यवसायीहरुका सहज मागलाई राज्यले यथोचित सम्बोधन गरेन भने यस क्षेत्रको अर्बौं लगानी डुब्ने र लाखौं मजदुरको रोजगारी गुम्ने निश्चित छ । 

    कोरोनाले हामीलाई अवसर पनि दिएको छ । यो अवसरको सदुपयोग गर्दै निर्माणाधीन पूर्वधारहरुको निर्माण सक्ने र थप आवश्यक पूर्वधार निर्माणलाई पनि अगाडि बढाउनु पर्दछ ।  नेपाल पर्यटन बोर्डलाई समयसापेक्ष सुधार गर्दै सातै प्रदेशको प्रवद्र्धनात्मक सामग्रीहरुको निर्माण एवम् विश्व बजारमा आगामी दिनमा हामीले गर्ने प्रचारात्मक गतिविधिको अनुसन्धान गर्ने कार्य पनि यसबीचमा ग¥यौँ भने कोरोना माहामारी मत्थर हुनेबित्तिकै तिब्र गतिमा अगाडि बढ्न सक्नेछौ । 
    पर्यटन व्यवसायीहरुको दायित्व 

        हामी सबै अहिले सून्यको स्थितिमा छौँ । कोरोनाको अन्त्य कहिले होला भन्ने चिन्तामा डुबेका छौँ । पछिल्लो समय केही घरधनीहरुले यस्तो जटिल अवस्थामा पनि घरभाडा मागेर थप पीडा थपिदिएका छन् । सहजतापूर्वक ऋण प्राप्त हुने स्थिति पनि नहुने, घरभाडा र कर्मचारीको दायित्व पनि यथावत रहिरहने स्थिति छ भने राष्ट बैङ्कले किस्ता एवम् ब्याजका सन्दर्भमा पनि कुनै निर्णय नगरेको अवस्था विद्यमान छ । 

        आफ्नो परिवारझैँ रहेका मजदुरलाई यस्तो अवस्थामा जाऊ भन्नु मानवीय समवेदनाभन्दा बाहिरको कुरा पनि हो । सरकार नै प्रत्येक नागरिकको आशा र भरोसा हो । तसर्थ हामी सबैले आ–आफ्नो ठाउँबाट आवाज बुलन्द गरिरहौँ र सरकारलाई सुन्न बाध्य बनाऔँ । चिनियाँ व्यापारी ज्याक माले भनेझैँ जोखिम मोल्न नसक्नेले व्यापार होइन, जागिर खानुपर्छ । तसर्थ हाम्रो भागमा जोखिम पर्न आएको छ, जोखिम मोल्नु नै पर्छ, भाग्न मिल्दैन । सुनौलो भविष्यको कल्पनामा धैर्यता गर्नु नै अहिलेको हाम्रो विवशता हो । सकारात्मक बनौँ, कोरोना अन्त्यको पर्खाईमा बसौं । नेपाल जस्तो सुन्दर देश दुनियाँमा कहीँ कतै छैन । पर्यटकहरु नेपालमा जस्तो आनन्दित हुने ठाउँ संसारको कुनै कुनामा छैन । तसर्थ हाम्रो पर्यटन बजार छिट्टै फर्कने छ । दुःखपछि सुख आउछ भनेझैँ सुन्दर भविष्यको कल्पनामा बसौँ र कोरानालाई पराजित गर्न सामूहिक प्रयत्न गरौँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार