Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोकिएन लुकीछिपी नेपाल भित्रिने क्रम


    शनिबार, जेष्ठ ३ २०७७
    780
    Shares
  • २ मिनेट पाठ
  • कञ्चनपुर ,३ जेठ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । सीमा क्षेत्रमा कडाइ गरिएपनि जङ्गलको बाटो तथा महाकाली नदीमा ट्युबमा तरेर आउने क्रम नरोकिएको जनाइएको छ ।

    शुक्रबारमात्रै सीमा क्षेत्रमा प्रवेश गरेका ६५ जना नेपालीलाई दशगजा क्षेत्रमा राखिएको छ । महाकाली नगरपालिकाको मायापुरी वन क्षेत्रको दशगजा क्षेत्रमा ३८ तथा भारतको टनकपुर नाका भएर सीमा क्षेत्र प्रवेश गरेका २७ जनालाई पनि दशगजा क्षेत्रमै राखिएको छ ।

     

    महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा बस्दै आएकालाई नगरपालिकाले खानपिनको व्यवस्था गरेको छ । ब्रह्मदेव बजार नजिकैको दशगजा क्षेत्रमा बस्दै आएकालाई भीमदत्त नगरपालिकाले खानपिनको व्यवस्थापन गरेको छ । सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकथाम गरिएकालाई तत्काल सीमानाका प्रवेश गर्न दिने नदिनेबारे निर्णय भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

    भारतका विभिन्न क्षेत्रबाट फर्कंदै गरेका नेपालीलाई भारतीय शुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाड्न थालेपछि समस्या उत्पन्न भएको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए । रोजगारी गुमेपछि खानाको अभावमा नेपाली मजदुर पैदल र रेल मार्गबाट सीमा नाकामा पुग्न थालेका छन् । धेरैजना शुरक्षाकर्मीको आँखा छिचोल्दै सीमा क्षेत्र नाघेर घर पुग्ने क्रम पनि जारी रहेको छ । अवैधरुपमा सीमा नाका प्रवेश गरेर घर फर्कनेमाथि स्थानीय तहले समेत निगरानी बढाएका छन् ।

    भीमदत्त नगरपालिका–१० का वडाध्यक्ष प्रमानन्द जोशीले भारतले सीमा क्षेत्रमा ल्याएर छाडिदिँदा निकै चुनौतीको सामना गर्नुपरेको बताए । सुरक्षाकर्मीको व्यस्तता बढेको छ उनले भने, “सुरक्षाकर्मीलाई समेत सङ्क्रमण हुन सक्ने जोखिम बढेको छ ।” रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार