काठमाडौं, ३ जेठ ।दिनदिनै कोरोना भाइरस संक्रमित संख्या बढेपछि सरकारले उपत्यकामा लकडाउन कार्यान्वयनलाई थप कडाइ गरेको छ ।जिल्ला प्रशासन कार्यालयले हिजो एक सूचना प्रकाशित गरि जेठ ३ गतेदेखि राजधानीका गल्लीमा अनावश्यक कामले हिँड्नेलाई पक्राउ गरी कानुनी कारवाही गरिने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अधिकृत मानबहादुर बुढाले सहरका गल्लीमा प्रहरीले चेक प्वाइन्ट राखेर अनावश्यक हिँड्डुल गर्नेलाई नियन्त्रण गर्ने बताए । पासबिनाका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा निषेध गरिएको छ। प्रशासनले यसअघि जारी सबै ई(पास र पहेंलो रङको पास खारेज गरिएको जनाएको छ। समितिको निर्णयबारे जानकारी दिंदै बुढाले भने, ‘यसअघि जारी भएका ई(पास र पहेंलो पास खारेज भएको छ। अब जारी हुने पास नीलो रङको हुनेछ।’
जिल्ला प्रशासनले अत्यावश्यक अवस्थामा गह्रौं सवारी साधनलाई राति ८ देखि बिहान ६ बजेभित्र मात्र गुड्न स्वीकृति दिएको छ। एम्बुलेन्स, शववाहन, पेट्रोलियम पदार्थ, औषधि तथा स्वास्थ्य सामग्री, ग्यास, सबै खाद्यवस्तु, तरकारी तथा फलफूललगायत बोकेका गाडीलाई पास नचाहिने जनाइएको छ। पास लिन सम्बन्धित कार्यालय, नियामक निकाय र नियामक निकाय नतोकिएको हकमा प्रशासन कार्यालयमा सम्पर्क राख्नुपर्ने निर्णय समितिले गरेको छ।
