काठमाडौं, ३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा पनि जारी गरिने बताएकी छन् ।सरकारकोआगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने बताइन्। छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिने पनि उनले बताइन्। उनले भनिन्, 'लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ। तदअनुरुप छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।’’
राष्ट्रपतिले आफ्नो अन्तर्राष्ट्रिय सीमाको रक्षा, सुरक्षा र संरक्षण गर्न सरकार सक्षम रहेको समेत बताइन्।अन्तराष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिँदै ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीति माध्यमबाट भारतसँग सीमा विवाद टुंगो लगाइने पनि उनले बताइन्।