Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नगरपालिकाले चेपाङलाई राहतमा पनि ठग्यो 


    बिहिबार, जेष्ठ १ २०७७
    815
    Shares
  • ५ मिनेट पाठ
  • चितवन, १ जेठ ।  चितवनको कालिका नगरपालिका वडा नं. ९ शेरवासका चेपाङलाई पनि कालिका नगरपालिकाले राहत दिँदा ठगेको पाइएको छ । सरकारले ५ जनासम्मको परिवारलाई १० किलो र सो भन्दा माथिको परिवारलाई २० किलो चामल र २ किलो नुन, २ किलो दाल लगायतका सामान दिने बताएको थियो । तर पनि कालिका नगरपालिकाबाट वितरण भएको राहत आफूले १० किलोमात्र पाएको स्थानीय रामचन्द्र चेपाङले कालिका दैनिकलाई बताए ।

    “खै कति दियो थाहा भएन, १० किलो चामल, आधा पाकेट नुन र १ किलो दाल पाएको हुँ” रामचन्द्रले दुखेसो पोखे । कोरोना भाइरसको महामारीपछि लकडाउनको समयमा कोही जनप्रतिनिधिहरु पनि गाउँमा नआई पुगेको र सो राहत पनि आफ्नो ज्वाइँ पूर्णबहादुर चेपाङले ल्याई दिएको रामचन्द्र चेपाङले बताए ।

    राहत बाँडेको पनि थाहै पाइएन, उनले भने । ७ जनाको परिवार छौँ, आफ्नो खेतीले ३–४ महिनामात्र खान पुग्दछ, सधैँ हामी ज्याला मजदुरी गरेर खाने गर्दथ्यौँ, उनले भने । अहिले ज्याला मजदुरी पनि गर्ने ठाउँ छैन, उनले गुनासो पोखे । ज्वाई मार्फत् पाएको चामल त अस्ति नै सकिइसक्यो, कसरी परिवा-र पाल्ने हो ? उनले दुखेसो पोखे । कालिका वडा नं. ९ को शेरवासमा १८ घरधुरी रहेको र त्यहाँका सबै विपन्नलाई राहत वितरण गरिसकेको वडा अध्यक्ष हेम बहादुर क्षेत्रीले दावी गरे । राहत वितरणको सन्दर्भमा जानकारी लिन नगर प्रमुख खुमनारायण श्रेष्ठलाई पटक पटक टेलिफोन गर्दा उनको फोन उठेन । 

    यस अगाडि पनि कालिका नगरपालिकाले वडा नं. १० र ११ को सिद्धि क्षेत्रका चेपाङ वस्तीमा पनि राहत वितरणमा ठगी गर्दै स्थानीयलाई सरकारले तोके भन्दा आधामात्र राहत वितरण गरेको पाइएको थियो । 

    जंगली कन्दमूल खाएर बाँचेका छौंः कमला चोपाङ

    चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ काफलडाँडाकी कमला चेपाङले एक नाङ्लो गिठ्ठा देखाउँदै भनिन्, परिवारकै पेटमा अन्न नपरेको २ महिना भयो । ७ जनाको परिवार रहेको कमलाका २ छोरीहरु घरभित्र बसी गिठ्ठा तास्दै थिए भने छेवैको अँगेनामा एउटा भाँडामा बिहानको खानाको लागि गिठ्ठा बसालिएको थियो । १ हलको बारी देखाउँदै कमलाले ३–४ महिना खाने मकै आउने र बाँकी श्रीमान्ले ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेपनि कोरोना सङ्क्रमणले गर्दा काम गर्न जान नपाएको उनले बताइन् ।

    गत फागुनसम्म अलि अलि मकै थियो र त्यसपछि खानेकुरा नभएर सधैँ गिठ्ठा खोजेर ल्याई खाने गरेका छौँ, उनले भनिन् । सो काफलडाँडा गाउँकी कमला चेपाङ जस्तै समस्यामा रहेका सुवास चेपाङ पनि छन् । उनको परिवारमा ८ जना सदस्य रहेका छन् । त्यस्तै गरी सोही गाउँका सन्त बहादुर चेपाङको पनि ७ जनाको परिवार छ भने मनरुपी घर्तीको ४ जनाको परिवार छ । यी सबैको घरमा कुनैपनि अन्न नभएको र सबैको घरमा गिठ्ठाहरु थुपारेर राखिएको थियो । बिहानै बेलुकै गिठ्ठा खान्छौ, के गर्नु ? खाने अन्न छैन, काम गर्न जाने ठाउँ छैन, सुवास चेपाङले दुखेसो पोखे । हालसम्म हामीले कही कतैबाट राहत पनि पाएका छैनौँ, उनीहरुले दुखेसो पोखे । सोही वडाको लाकुरे डाँडाकी दिलमाया घर्तीले पनि सरकारबाट पाउने राहत नपाएको र चर्चका पास्टर मार्फत् भने १५ किलो चामल पाएको बताइन् ।

    इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बमबहादुर मगरले आफ्नो वडामा टोल विकास संस्था मार्फत् सबैलाई राहत पठाइएको र यदि कोही कसैले नपाएको भए उनीहरुलाई राहत वितरण गरिने बताए । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले गाउँपालिकाभित्र २ हजार ८ सय घरधुरीलाई वडा र टोल मार्फत् राहत वितरण गरिसकिएको र कोही कसैले नपाएको भए वडा मार्फत् गाउँपालिकाले सहयोग उपलब्ध गराउने बताइन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार