Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा 


    बिहिबार, जेष्ठ १ २०७७
    630
    Shares
  • २ मिनेट पाठ
  • कपिलबस्तु, १ जेठ । कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन्।

    प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन्।

    वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायबिना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन्।

    स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो।

    पीडित बालिकाहरुले आफूहरूलाई अभियुक्तले यौन दुर्व्यवहार गरेको  प्रहरीसमक्ष बयान दिएका थिए।

    उनीहरूले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन्।

    प्रहरीले पीडकसँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ। जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ।

    सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन्। एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेश गरिएको छैन। इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकिलमार्फत पेश गर्दा जबर्जस्ती करणी गरेको भनेर पेश गरेको थियो।

    महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसँग मिलेमतो गरेर कमजोर मुद्दा चलाएको आरोप लगाए।

    इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको प्रतिक्रिया दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार