काठमाडौं । नेपाल प्रहरीमा थपिएको एक प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा डीआइजी सहकुलबहादुर थापा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले थापालाई एआइजी बढुवाका लागि सिफारिस गरेको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले प्रदेश समन्वय निर्देशनालयका डीआइजी थापालाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । एआइजी बढुवाका दाबेदारहरुमा डीआइजीहरु धिरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी लगायत थिए ।
नेपाल प्रहरीमा यसअघि ४ एआइजीको दरबन्दी रहेको थियो । एक पद थप भएसँगै एआइजीको संख्या ५ पुगेको छ । एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल कार्यरत छन् । पाल, शाही र कार्की वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका हुन् ।
आइजीपी थापा क्षेत्रीसँगै तीनै एआइजी अवकाश भएपछि विश्वराज पोखरेल एक्ला आइजीपीका दाबेदार थिए । तर थापाको बढुवा सिफारिससँगै अब आइजीपीमा प्रतिस्पर्धा हुने भएको छ ।
