काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै असार २१ सम्म थपेको हो ।
उक्त बैठकले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीका अनुसार बैठकले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेकाे हाे ।
२५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो । लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन ।
यस्तै मंगलबारदेखि अत्यवश्यकका खाद्यान्न, तरकारी‚ दुध पसलहरु बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा पसल, जुत्ता, फेन्सी पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ । यस्तै सवारीसाधनका वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।


