Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको प्राविधिक निर्देशनालयः ठेकेदार पोस्दै फाइदा लिन तल्लीन


    सोमबार, असार १४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको प्राविधिक निर्देशनालयले देशका ७० स्थानमा प्रहरीका संरचना निर्माण गरिरहेको छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण राजधानी काठमाडौंमा २ वटा बन्दैछन् । काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाका भवन निर्माण भइरहेका छन् । काठमाडौं परिसरको भवन निर्माणको ठेक्का अच्यूतप्रसाद  खरेलको समानान्तर निर्माण सेवाले पाएको छ भने अपराध महाशाखाको ठेक्का विकोई विल्डर्सले पाएको छ । काठमाडौं परिसरको भवनको लागत स्टिमेट ९१ करोडको हो, त्यसमा प्रतिस्पर्धा हुँदा समानान्तरले ८२ करोडमा ठेक्का पाएको छ । समानान्तरले निर्माण सुरु गरेपछि प्रहरीको प्राविधिक निर्देशनालयले लागत स्टिमेटमा एसी फायरफाइटिङ र अन्य डेकोरेसन छुटेको भन्दै पुनः २ करोड २२ लाख रुपैयाँको काम थपेको समाचार छ ।

    प्राविधिक निर्देशनालयका डीआईजी लोकेश सिंहले पहिला नक्सा बनाउँदा नै एसी र फायर फाइटिङ जडान गर्ने कुरालाई जानीजानी छुटाएर अहिले ठेकेदारसँग मोलतोल गरी दिएको आरोप छ । नक्सा बनाउँदा अत्याधुनिक भवनका लागि आवश्यक सबै कुरा डिजाइन बनाइएको हुन्छ । तर निर्देशनालयले कन्सलटेन्सीलाई ठेक्का दिएर डिजाइन तयार गर्दा भवनको फायर फाइटिङ जडानलाई छुटाइनु रहस्यमय मानिएको छ ।

    काठमाडौं परिसरको भवनदेखि देशभरिका प्रहरी संरचना निर्माणमा प्राविधिक निर्देशनालयका डीआईजी सिंहले आफ्ना विश्वासपात्रहरुलाई खटाएका छन् । भवन निर्माणमा ठेकेदारसँग निर्देशनालयका हाकिमहरुले १०÷१५ प्रतिशत पीसी लिने गरेको आरोप छ । त्यसका लागि सिंहले आफ्ना विश्वासपात्र एसपी रामकुमार चौधरी र इन्स्पेक्टर दीपक केसीलाई परिचालन गरेको प्रहरी श्रोत बताउछ । प्रशासन तथा मानव स्रोत विभाग अन्तर्गतको प्राविधिक निर्देशनालयले पर्याप्त आर्किटेक्ट इन्जीनियर हुँदाहुँदै परिसर र अपराध महाशाखाको भवनको डिजाइनको काम कन्सल्टेन्सीलाई दिएको छ ।

     प्रशासन विभागका प्रमुख एआईजी निरजबहादुर शाही छन् । उनलाई खुसी पार्न डीआईजी लोकेश सिंहले उनको निवासमा रेनोभेसन गराउने कार्य गराइदिएको प्रहरी स्रोत बताउँछ । शाही प्रहरीभित्र भद्र स्वभावको भएको र नगदमा घुस नलिने भएकाले उनको घर रेनोभेसन गराई प्राविधिक निर्देशनलयबाट भएका बद्मासीलाई ढाकछोप गर्ने काम गरेका छन् । प्रहरीमा जनशक्ति हुँदाहुँदै उनीहरुलाई प्रयोग गरी गर्नुपर्नेमा कन्सल्टेन्सीलाई डिजाइनको ठेक्का दिएर डीआईजी सिंह मात्र होइन तत्कालीन आईजीपी सर्वेन्द्र खनालले समेत लाभ लिएको आरोप छ । डीआईजी सिंहको जागिर अब ३ महिनामात्र बाँकी छ । उनी आगामी असोज २५ गते अवकाश हुँदैछन् । अवकाशको मुखमा उनी जसरी हुन्छ, प्रहरीका भौतिक संरचना निर्माण गर्ने ठेकेदारहरुसँग असुलीमै तल्लीन छन् । साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार