काठमाडौँ । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्न प्रशासन कार्यालयहरू एकमत भएको बुझिएको छ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक उक्त निष्कर्षमा पुगेको देखिएको हो । तर, अन्य के–कस्ता मापदण्ड लागू गर्ने भन्नेमा अझै निर्णय भइनसकेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए ।
‘जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिने कि भन्नेबारे छलफल भएको हो,’ पराजुलीले भने, ‘तर कसलाई दिने, कसलाई नदिने भन्नेबारे कुनै निर्णय भइसकेको छैन, सोमबार आदेश जारी भएपछि मात्र यसबारे थाहा हुनेछ ।’ त्यसको लागि आज पुन: तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै छ।
काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो पारिएको छ। सीडीओ पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताए ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि आज सकिँदैछ।