एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिना रंगशालामा भएको खेलमा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।
यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।
अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।
यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।