बुटवल, १ जेठ । कपिलवस्तुमा घरमै बसेकी ६ बर्षिय बालिकालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कपिलवस्तुकी कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका ४ ठाकुरापुरकी रहेको खुलेको हो । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भनेर स्थानीय आश्चर्यमा परेका छन् ।
अभिभावकका अनुसार बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै गएको छैन । वडा अध्यक्ष गणेश क्षेत्रीले भने, ‘घरमै बसेकी बालिकालाई कसरी कोरोना देखियो हामी सबै अचम्ममा परेका छौं ।’
स्वास(प्रश्वाससम्बन्धी समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर ती बालिकालाई मंगलबार काठमाडौंमा उपचार गराउन पठाइएको वडा अध्यक्ष क्षेत्रीले बताए । अस्पतालले उनको स्वाब परीक्षण गराउँदा संक्रमण देखिएको उनले बताए ।
बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले जानकारी दिए ।
बिहीबार बिहानको रिपोर्टमा बालिकामा संक्रमण देखिएपछि कपिलवस्तुमा संक्रमितको संख्या ३९ पुगेको छ । जसमध्ये ४ जना सुरक्षाकर्मी र १ जना स्टाफ नर्समा पनि संक्रमण पुष्टि भएको छ ।