Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘कोभिड-१९, महामारीमा योगको उपयोगिता’


    सोमबार, असार ७ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १० मिनेट पाठ
  • – संयोग बस्याल
         पोखरा
     
    सजिलोका लागि हामीले यन्त्र बनायौँ,यन्त्रको सहजताका कारण भित्रभित्रै हामी अल्छी,स्वाँठ र सुतुवा बन्दै गइरहेको कुरा बिर्सियौँ । यन्त्रको धुनमा मन्त्र भुल्यौँ,काम भुल्यौँ ।
     
    आँफू धेरै बाँच्न पाए हुन्थ्यो भन्ने चाहना भएर पनि,हामी आँफैले मर्ने जुगाड गरिरहेको छौँ भन्ने रहस्य हामीले अझै पत्ता लगाइसकेका छैनौँ ।
     
    मैले यसो भनिरहँदा तपाईंलाई झेउ लागेको होला हैन? किन नलागोस् त । यहाँ त बच्चाहरूले पनि मान्छे मार्ने खेल खेल्न थालिसके। “सर्वे भवन्तु सुखिन: “का उक्तिहरू त हामीलाई चुट्किला जस्ता लाग्न थाले । तपाईँ स्वयम् पब्जीमा मस्त,तपाईंको छोरो फृफायरले ग्रस्त। तपाईँकी बेहुलीलाई टिकटकले बहुला बनाएको पनि पत्तो पाइसक्नुभएको छैन । अधिकतम समय त हामीले यसरी नै बर्बाद गरिरहेका छौँ। विहान बेलुकै,हामीले हाम्रा हातहरूलाई, हाम्रा मस्तिष्कहरूलाई यस्तै फाल्तु कुराहरूमा लगाएर धोल्लो,कमजोर र शिथिल बनाइ कुहिनलाई छोडिदिएका छौँ भन्ने कुरा कहिले बुझ्ने? यस्तै प्रवृत्तिले गर्दा बिस्तारै मान्छेको औसत आयु सय बाट घटेर साठीमा आइपुग्यो । हामीले हाम्रा नशाहरूलाई तन्काउन छाड्यौँ । हाम्रा गालाहरू छिटै नै चाउरिन थाले।हाम्रा केशहरू छिटै फुल्न थाले।हामीहरू पुड्के हुन थाल्यौँ । हाम्रा आँखाहरू कलिलै उमेरमा कमजोर बन्न थाले । यसको कारक तत्व मान्छे स्वयम् हो ।
     
    हाम्रै आहार विहारको अशुद्धता र विभिन्न लापरवाहीले गर्दा वर्तमान संसार कोभिड १९ जस्तो ठूलो महामारीले प्रताडित हुनु परेको छ । २०७६ बाटै सुरु भएर २०७८ सम्मै विभिन्न विकराल स्वरूप लिएर भाइरस झन्,झन् बलियो बनेर आयो । यसैका कारण अरबौँ मानिसहरू चितामा सुतिसके,कैयौँ सुत्दैछन्, लाखौँ सुत्नेवाला छन् भन्ने कुरा अवगत हुँदाहुँदै पनि हामी सतर्क किन नहुने?
     
    वैज्ञानिकहरू यस भाइरसविरुद्धको खोप एवं औषधीको खोज अध्ययनमा अझै खटिएका छन् । यद्यपि अहिलेसम्म कुनै गतिलो सफलता हात परेको छैन ।
     
    महामारीको सम्भावित फैलावटलाई रोक्नका लागि विश्वका थुप्रै मुलुकहरूमा लकडाउन गरिएको छ ।  जसका कारण विश्वका आर्थिक/सामाजिक जस्ता थुप्रै क्षेत्रहरूमा घातक असर परिरहेको छ । अझै लकडाउन नै गरिरहने हो वा कोरोनाका साथमा बाँच्न सिक्ने हो ?  यही द्विविधामा अल्मलिएको छ समाज ।
     
    यस्तै भावी संकटहरूका संकेत देखेर हामीलाई हाम्रा पुर्खाहरूले स्वस्थ एवं खुशीयाली जीवन जिउन सहज होस् भनेर हाम्रालागि विभिन्न ग्रन्थ, दर्शनहरूमा जीवन जिउन सिकाउने पद्धतिहरू लेखेर राखिदिए । भौतिक विकासको फड्को मार्दै आकाश छुने होडबाजीमा वर्तमान संसारले वास्तविक जीवन जिउन बिर्सिसकेको अवस्थामा कसैलाई प्राचीनतामा विश्वास छैन र किताब पल्टाएर ग्रन्थ खोल्ने त झनै समय नै छैन ।
     
    अब हामी मूल कुरा तर्फ मोडिऔँ । भन्नुको तात्पर्य के त भन्दा, अहिलेको यस महामारीको सर्वोत्तम औषधी भनेकै
    योग हो ।  चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक भाइरसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो ।
     
    उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ। कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षणहरू हुन् ।
     
    घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने ग घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल हुने जस्ता हालका लक्षणहरू हुन् । अझ यी सबै लक्षणहरू पाइएपछि मान्छे स्वयम् डराएर रोगको क्षमता अझ बढाइदिन्छ ।
     
    भाइरसको रोकथाम र उपचारमध्यका दुई-वटा मुख्य कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु तथा तनाव व्यवस्थापन हो । चिकित्सा शास्त्रमा यसको कुनै गतिलो भ्याक्सिन पनि छैन न त औषधी नै । अस्पतालमा गरिने उपचार भनेको देखिने लक्षणहरूको तथा यदि बिरामीमा कुनै जटिल समस्या देखिएमा जीवन बचाउने उपचार मात्रै हो । विना औषधी तथा भ्याक्सिनले बिरामीहरू ठिक हुनुको एक मात्र कारण भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता हुनु नै हो । जसको क्षमता बलियो छ, उसले सजिलै यस रोगबाट विजय प्राप्त गर्छ ।  त्यसैले भाइरसलाई बढ्न नदिन र रोगलाई मार्ने क्षमता अभिवृद्धि गर्नलाई सबैभन्दा उत्तम उपाय भनेकै योग हो ।
     
    पतञ्जली योगसूत्रमा “योगश्चित्तवृत्तिनिरोध:”अर्थात् योग चित्तका वृत्तिहरूको निरोध गर्ने एक साधन हो भनेर योगको परिभाषा गरिएको छ । गीतामा समेत “योगस्थ: कुरु कर्माणि”योग: कर्म सुकौशलम्”अर्थात् नियमित योग गर्दै कार्यहरू गर्नाले शारीरिक, मानसिक तथा आध्यात्मिक विकास हुन्छ ,योग भन्दा अर्को कुशल कर्म छैन भनेर भगवान् श्रीकृष्णले स्पष्ट भन्नुभएको छ ।
     
    यस स्थितिमा योग शक्तिलाई हामीले स्वीकार्नु बाहेक अर्को कुनै विकल्प छैन । योगले गर्दा कोरोना महामारी नियन्त्रण भएका थुप्रै किस्साहरू हामीले समाचारबाट थाहा पाउन पनि सक्छौँ यसमा कुनै शंका छैन।
     
    तर विडम्बना के छ भने? अहिलेको समयमा योग भन्नाले योगासनलाई मात्र बुझ्ने गरिएको अथवा कतिपयले त शारीरिक व्यायामलाई नै योग भन्ने गरेको पाइन्छ । यी दुवै बुझाइहरू गलत हुन् ।
     
    प्राचीन ग्रन्थहरूका अनुसार योगका मन्त्रयोग, राजयोग, हठयोग जस्ता थुप्रै प्रकारहरू बताइएका छन् तर पनि वर्तमान अवस्थालाई हेरेर कोरोनासँग बच्न सकिने प्रमुख आठ अभ्यासहरू रहेका छन् । जसलाई अष्टाङ्ग योग भनिन्छ ।  यस अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा र समाधि पर्छन् ।
     
    वर्तमान अवस्थामा योगका यिनै मुख्य प्रकारहरूलाई आत्मसाथ गरेर उपयोग गर्ने हो भने रोगले समात्न सक्दैन भन्ने कुरामा कुनै शंका छैन । रोग लागिहालेमा पनि त्यसले ठूलो असर नपार्ने र छिटो निको भैहाल्ने कुरामा दुविधै छैन ।
     
    अष्टाङ्ग योगका सामान्य परिभाषा एवं प्रयोगविधि:-
     
    . यम ; आँफू बसेको समाजमा भएका नियम–कानुनहरुको पालना गर्नु यम हो । वर्तमानमा लकडाउनको पालना गर्नु, घरमै बस्नु, मास्क सेनिटाइजरको प्रयोग गर्नु, सरकारले तोकेका आधारहरूको पालनु गर्नु आदि ।
     
    . नियम भन्नाले व्यक्तिगत अनुशासन पालना गर्नु हो । जस्तै: आफ्नो सरसफाइ,आहार विहारमा शुद्धता ल्याउनु आदि ।
     
    . आसन भन्नाले सम्पूर्ण योगासनलाई जनाउँछ।रोग प्रतिरोधात्मकका लागि आवश्यक आसनहरू जस्तै:-सूक्ष्म व्यायाम, सूर्य नमस्कार, गोमुखासन, सिंहासन, मार्जरीआसन, नौकासन, धनुरासन, क्रिकोणासन, ताडासन, बज्रासन, शंखासन, स्वस्तिकासन आदि।दैनिक योगाभ्यास गर्नाले शरीरमा सकारात्मक परिवर्तन देखिन थाल्छन् ।  शरीर स्वस्थ र फुर्तिलो हुन्छ ।  पाचनक्रिया राम्रो हुन्छ ।  शरीरका हरेक अङ्गहरूमा रक्तसञ्चार वृद्धि हुन्छ । मन शान्त हुन्छ, राम्रो निन्द्रा लाग्छ । विशेष गरेर कोरोना रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
     
    . प्राणायाम:- “श्वासप्रश्वासयोर्गतिविच्छेद:प्राणायाम:” अर्थात् श्वास र प्रश्वासको गतिलाई अलग गर्नुनै प्राणायाम हो भनेर पतञ्जलीको प्राणायम सूत्रमा बताइएको छ । भस्त्रिका प्राणायाम, कपालभाति प्राणायाम, बाह्य प्राणायाम ,अनुलोम-विलोम प्राणायाम, भ्रामरी प्राणायाम, उद्गीथ प्राणायाम, प्रणव प्राणायाम, अग्निसार क्रिया, उज्जायी प्राणायाम, सीत्कारी प्राणायाम, शितली प्राणायाम जस्ता प्राणायमका आठ भेद छन् ।प्राणायामले श्वास लिँदा प्रयोग हुने मांसपेसीहरुलाई बलियो बनाउँछ । दीर्घरोगहरु जस्तैः उच्च रक्तचाप, मधुमेह, दम आदिलाई पनि नियन्त्रण गर्नमा सहयोग गर्छ ।
     
    . प्रत्याहार:- मनलाई पाँच इन्द्रियको वशमा हुन नदिनु हो । जस्तै: अनावश्यक तथा भ्रामक समाचारको पछाडि नलाग्ने, यो रोग लागेपछि मरिहालिन्छ कि भन्ने गलत धारणा हटाउने, सकारात्मक सोंचको विकास गर्ने ।
     
    ६/७. धारणा र ध्यान :- मनलाई कुनै एकै ठाउँमा केन्द्रित बनाउन प्रयास गर्नु,बनाउनु । जस्तै:- भजन कीर्तन गर्नु, धेरै समयसम्म ॐ उच्चारण गर्नु, ध्यानमा लाग्नु आदि । यसको प्रभावले मन शान्त, अनावश्यक तनावबाट मुक्त, डर र त्रासबाट मुक्त हुन सकिन्छ ।
     
    . अन्त्यमा समाधि भनेको शरीर, मन र आत्माको एकाकार हुनु हो र योगको अन्तिम अवस्था हो । हालका लागि भने योग क्रिया गर्न सक्छौँ । जस्तै:- दैनिक जलनेती क्रिया गर्ने, कुञ्जल विधि हप्ताको २ पटक गर्ने । यसले माथिल्लो श्वास सफा बनाइराख्छ ।
     
    वास्तवमा यी आठ वटा अंगहरूको अभ्यास गर्नु नै सही मानेमा योग गर्नु हो । अहिले बिल्कुलै गलत प्रकारले योग गर्ने र गराउने कार्यको व्यापकता देख्न पाइन्छ । गलत तरिकाले योग गरेको खण्डमा विभिन्न शारीरिक तथा मानसिक समस्या देखिन सक्छन् । तसर्थ दक्ष योग प्रशिक्षक अथवा योग तथा प्राकृतिक चिकित्सकको सल्लाह, सुझाव अनुसार मात्र योग गर्नुपर्छ ।
     
    योग समयको आवश्यकता हो । आजको संसारको हिँडदौड र तनावमय जीवन अनि समसामयिक महामारीको घडीमा शरीरलाई स्वस्थ तथा मनलाई शान्त राख्नका लागि योग बाहेक अर्को कुनै विकल्प छैन ।  योग हरेक उमेर समूहहरूका लागि अत्यावश्यक छ तर उमेर समूह अनुसार यसको अभ्यास गर्नुपर्छ । आज विश्वभरि महामारीको रूपमा रहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्नको लागि योगको अभ्यास अत्यन्त आवश्यक छ ।
     
                                                                   
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार