तर विडम्बना के छ भने? अहिलेको समयमा योग भन्नाले योगासनलाई मात्र बुझ्ने गरिएको अथवा कतिपयले त शारीरिक व्यायामलाई नै योग भन्ने गरेको पाइन्छ । यी दुवै बुझाइहरू गलत हुन् ।
प्राचीन ग्रन्थहरूका अनुसार योगका मन्त्रयोग, राजयोग, हठयोग जस्ता थुप्रै प्रकारहरू बताइएका छन् तर पनि वर्तमान अवस्थालाई हेरेर कोरोनासँग बच्न सकिने प्रमुख आठ अभ्यासहरू रहेका छन् । जसलाई अष्टाङ्ग योग भनिन्छ । यस अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा र समाधि पर्छन् ।
वर्तमान अवस्थामा योगका यिनै मुख्य प्रकारहरूलाई आत्मसाथ गरेर उपयोग गर्ने हो भने रोगले समात्न सक्दैन भन्ने कुरामा कुनै शंका छैन । रोग लागिहालेमा पनि त्यसले ठूलो असर नपार्ने र छिटो निको भैहाल्ने कुरामा दुविधै छैन ।
अष्टाङ्ग योगका सामान्य परिभाषा एवं प्रयोगविधि:-
१. यम ; आँफू बसेको समाजमा भएका नियम–कानुनहरुको पालना गर्नु यम हो । वर्तमानमा लकडाउनको पालना गर्नु, घरमै बस्नु, मास्क सेनिटाइजरको प्रयोग गर्नु, सरकारले तोकेका आधारहरूको पालनु गर्नु आदि ।
२. नियम भन्नाले व्यक्तिगत अनुशासन पालना गर्नु हो । जस्तै: आफ्नो सरसफाइ,आहार विहारमा शुद्धता ल्याउनु आदि ।
३. आसन भन्नाले सम्पूर्ण योगासनलाई जनाउँछ।रोग प्रतिरोधात्मकका लागि आवश्यक आसनहरू जस्तै:-सूक्ष्म व्यायाम, सूर्य नमस्कार, गोमुखासन, सिंहासन, मार्जरीआसन, नौकासन, धनुरासन, क्रिकोणासन, ताडासन, बज्रासन, शंखासन, स्वस्तिकासन आदि।दैनिक योगाभ्यास गर्नाले शरीरमा सकारात्मक परिवर्तन देखिन थाल्छन् । शरीर स्वस्थ र फुर्तिलो हुन्छ । पाचनक्रिया राम्रो हुन्छ । शरीरका हरेक अङ्गहरूमा रक्तसञ्चार वृद्धि हुन्छ । मन शान्त हुन्छ, राम्रो निन्द्रा लाग्छ । विशेष गरेर कोरोना रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
४. प्राणायाम:- “श्वासप्रश्वासयोर्गतिविच्छेद:प्राणायाम:” अर्थात् श्वास र प्रश्वासको गतिलाई अलग गर्नुनै प्राणायाम हो भनेर पतञ्जलीको प्राणायम सूत्रमा बताइएको छ । भस्त्रिका प्राणायाम, कपालभाति प्राणायाम, बाह्य प्राणायाम ,अनुलोम-विलोम प्राणायाम, भ्रामरी प्राणायाम, उद्गीथ प्राणायाम, प्रणव प्राणायाम, अग्निसार क्रिया, उज्जायी प्राणायाम, सीत्कारी प्राणायाम, शितली प्राणायाम जस्ता प्राणायमका आठ भेद छन् ।प्राणायामले श्वास लिँदा प्रयोग हुने मांसपेसीहरुलाई बलियो बनाउँछ । दीर्घरोगहरु जस्तैः उच्च रक्तचाप, मधुमेह, दम आदिलाई पनि नियन्त्रण गर्नमा सहयोग गर्छ ।
५. प्रत्याहार:- मनलाई पाँच इन्द्रियको वशमा हुन नदिनु हो । जस्तै: अनावश्यक तथा भ्रामक समाचारको पछाडि नलाग्ने, यो रोग लागेपछि मरिहालिन्छ कि भन्ने गलत धारणा हटाउने, सकारात्मक सोंचको विकास गर्ने ।
६/७. धारणा र ध्यान :- मनलाई कुनै एकै ठाउँमा केन्द्रित बनाउन प्रयास गर्नु,बनाउनु । जस्तै:- भजन कीर्तन गर्नु, धेरै समयसम्म ॐ उच्चारण गर्नु, ध्यानमा लाग्नु आदि । यसको प्रभावले मन शान्त, अनावश्यक तनावबाट मुक्त, डर र त्रासबाट मुक्त हुन सकिन्छ ।
८. अन्त्यमा समाधि भनेको शरीर, मन र आत्माको एकाकार हुनु हो र योगको अन्तिम अवस्था हो । हालका लागि भने योग क्रिया गर्न सक्छौँ । जस्तै:- दैनिक जलनेती क्रिया गर्ने, कुञ्जल विधि हप्ताको २ पटक गर्ने । यसले माथिल्लो श्वास सफा बनाइराख्छ ।
वास्तवमा यी आठ वटा अंगहरूको अभ्यास गर्नु नै सही मानेमा योग गर्नु हो । अहिले बिल्कुलै गलत प्रकारले योग गर्ने र गराउने कार्यको व्यापकता देख्न पाइन्छ । गलत तरिकाले योग गरेको खण्डमा विभिन्न शारीरिक तथा मानसिक समस्या देखिन सक्छन् । तसर्थ दक्ष योग प्रशिक्षक अथवा योग तथा प्राकृतिक चिकित्सकको सल्लाह, सुझाव अनुसार मात्र योग गर्नुपर्छ ।
योग समयको आवश्यकता हो । आजको संसारको हिँडदौड र तनावमय जीवन अनि समसामयिक महामारीको घडीमा शरीरलाई स्वस्थ तथा मनलाई शान्त राख्नका लागि योग बाहेक अर्को कुनै विकल्प छैन । योग हरेक उमेर समूहहरूका लागि अत्यावश्यक छ तर उमेर समूह अनुसार यसको अभ्यास गर्नुपर्छ । आज विश्वभरि महामारीको रूपमा रहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्नको लागि योगको अभ्यास अत्यन्त आवश्यक छ ।