काठमाडौं, ३१ बैशाख । लकडाउनका कारण आर्थिक गतिबिधि ठप्प छ । यो बेला मिटरब्याजमा लगानी गर्नेहरु के गर्दैछन् ? मिटरब्याजमा लगानी गर्ने महेशबहादुर सिंह प्रहरीका आइजीपीसम्म आफ्नो पहुँच देखाएर मानिसहरुलाई कन्चटमा बन्दुक देखाउँदै तर्साएर चेकमा आफूखुसी रकम भर्ने गर्दथे । उनको मिटरब्याजको धन्दाको बिरोध गर्नेलाई उनी सिधै उडाइदिने धम्की दिने गर्दथे । तर अति भएपछि खती हुन्छ भनेझैं उनले ४० लाख ऋण दिएर ४ करोडको घर नै हडप्न थालेपछि उनका बिरुद्ध प्रहरीमा जाहेरी पर्यो । उनी पक्राउ परे । पक्राउ पर्नासाथ उनी डिप्रेसनमा गए । त्यसपछि उनको परिवारले मिटरब्याजको गैरकानुनी कारोबारबाट उनलाई अलग गराएको थियो ।
६० को दशकमा क्यासिनोमा मिटरब्याजमा लगानी गरी नवधनाढ्य भएका बलराम सापकोटा ‘बले’, वीरेन्द्रलाल श्रेष्ठ, राजन भुजेल, कविन शाक्य, अरुण सेढाईहरु अहिले पनि यो कारोबारमा सक्रिय नै छन् । लकाडाउनका कारण उनीहरुको मिटरब्याजको धन्दामा सुस्तता आएको छ । वीरेन्द्रलाल श्रेष्ठले त ०७६ चैत ११ मा लकडाउन घोषणा भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पास नै लिएर मिटरब्याजमा गरेको लगानी उठाउन सक्रिय थिए । कविन शाक्य पासकै खोजीमा विभिन्न पहुँचवालाहरुसँग हारगुहार गर्न तल्लीन थिए ।
राजन भुजेल भने सर्वेन्द्र खनाल आइजीपी हुन्जेल प्रहरीको हिटलिष्टमा परेकाले मिटरब्याजको कारोबारमा खुलेर नलागे पनि उनी अवकाश भएपछि पुनः सक्रिय रुपमा लागेका छन् । मिटरब्याजमा लगानी गर्ने यिनीहरुले प्रहरी अधिकृतहरुको पैसा चलाउने गरेका छन् । प्रहरी अधिकृतको पैसा चलाउँदा डुब्ने संभावना कम भएकाले पनि उनीहरु कुनै न कुनै रुपमा प्रहरीसँग जोडिने गरेका छन् ।
बलराम सापकोटाले मिटरब्याजबाट आर्जित धन पछिल्लो समयमा होटलमा लगानी गरेका छन् । झापामा मेची क्राउन होटल निर्माण सकेर संचालनको तयारीमा भएकै बेला लकडाउन भएको छ । विश्व नै कोरोना भाइरस(कोभिड–१९)को जोखिममा रहेकाले गर्दा होटलको ब्यापार अबका केही बर्ष चल्ने संभावना कम छ । सापकोटासहित पवित्रकुमार कार्कीले पनि मेची क्राउन होटलमा लगानी गरेका छन् । होटलमा क्यासिनो पनि संचालन गर्ने तयारीमा सापकोटा थिए । भारतका दार्जिलिङ, सिक्किम लगायतका ग्राहकलाई ध्यानमा राखी क्यासिनो पनि संचालन गर्ने योजनामा सापकोटा थिए ।
क्यासिनोमा हार्नेको घरजग्गा धितो राखेर मिटरब्याजमा ऋण दिने र त्यो कौडीको मूल्यमा हत्याएर रातारात करोडौंपति भएका हुन् सापकोटा । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको अति निकट भएको दाबा गर्दैआएका छन् । कुनै समय होटलमा भाँडा माझेका सापकोटाले आफ्नो विवाहको पार्टीमा काभ्रेमा हेलिकोप्टरमै जन्ती लिएर गएको बिषयले निकै चर्चा पनि पाएको थियो । प्रधानमन्त्री ओलीलाई बा नै भन्ने दाबी गर्ने सापकोटा २०७६ को तिहारमा महाराजगंजमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परी करिब २० दिन नै थुनामा परेका थिए । ओलीलाई बा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग निकट सम्बन्ध भएको भन्ने सापकोटासहितका पवित्रकुमार कार्कीलाई जुवा प्रकरणमा हिरासतमुक्त भएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरेको थियो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सापकोटाको सम्पत्ति छानबिन गरिरहेको छ । काठमाडौं उपत्यका लगायतका मालपोत कार्यालय र कर कार्यालयहरुमा विभागले उनको जग्गा जमिन र ब्यापारिक फर्महरुको विवरण माग गरेको छ ।
काठमाडौंमा गुन्डागर्दी गर्दै आएका गुन्डा नाइके राजनकुमार भुजेल पनि मिटर ब्याजमा लगानी गर्नेभित्र पर्दछन् । उनी निर्माण ब्यवसायी शरद गौचनको हत्यामा जेल संजाय भुक्तान गरिरहेका गुण्डानाइके समीरमान बस्नेतको समूहमा काम गर्थे । समीरमान पक्राउपछि पनि उनी गुण्डागर्दी र मिटरब्याजको कारोबारमा संलग्न छन् । उनले पनि केही भ्रष्ट प्रहरी अधिकृतको पैसा लिएर मिटरब्याजमा लगाउने गरेका छन् । भूजेल २०७६ असारमा पक्राउ परी छुटेका थिए ।
वीरेन्द्रलाल श्रेष्ठ कुनै बेला प्रहरी अधिकृतको सबैभन्दा बढी पैसा लिएर मिटरब्याजमा लगाउनेमा पर्दछन् । वीरेन्द्रलालले सुरुमा क्यासिनोमा हार्नेहरुलाई पैसा लगानी गर्दै मिटर ब्याजको धन्दामा हात हालेका थिए । उनले ५ करोडको घर आफ्नो नाममा धितो राखेर ४० लाख रुपैयाँ ऋण दिने र ६ महिनामा फिर्ता नगरेमा उक्त घर हडपी बीसौैं करोड आर्जन गरेका छन् । काभ्रेको कानपुर घर भएका श्रेष्ठ कुनै बेला ३ पाँंग्रे कालो टेम्पु चलाउँथे । तर प्रहरी अधिकृतको पैसा मिटरब्याजमा लगाएर छोटो समयमा बीसौं करोडका मालिक भएका छन् । उनी लकडाउनमा पनि आफ्नो मिटरब्याजको कारोबार जारी राख्न सुरुदेखि नै पास लिएर निर्धक्कसँग गाडीमा सयर गर्दैआएका छन् ।
नेपाल प्रहरीका पूर्वएआइजी किरण गौतम, कल्याण तिमिल्सिना, पूर्व एसपी ढकबहादुर कार्कीहरुको संरक्षणमा उनले मिटर ब्याजमा पैसा लगानी गरेका थिए । किरण गौतम एआइजी हुँदा त उनको यति चकचकी थियो कि उनले लाख दिएर काठमाडौंका धेरै घर हडपेका थिए । किरण गौतम लगायत धेरै भ्रष्ट प्रहरी अधिकृतको पैसा उनले मिटरब्याजमा लगानी गरेका थिए । यहाँसम्मकि ब्यवसायिक प्रहरीको छवि बनाएका नवराज सिलवाल(हाल सांसद)ले पनि उनीमार्फत् मिटर ब्याजमा लगानी गर्ने गरेको चर्चा हुने गरेको थियो ।
त्यसैगरी, कविन शाक्य पनि मिटरब्याजको धन्दाबाटै रातारात अरबपति हुनेमा पर्दछन् । मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, कबिन शाक्य, अरुण सेढाईलगायतको अबैध सम्पत्तिमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन थालेको थियो । तर त्यो उजुरी पनि आर्थिक चलखेलका आधारमा निस्प्रभावी बनाउने काम उनीहरुले गरेका थिए ।
शाक्यले २०७५ चैतमा तीन भारतीय नागरिक लाक्पा शेर्पा, सुमन भण्डारी र युवराज गुरुङलाई क्यासिनो बेल्लिज, रोयल र सांग्रिलामा मेसिन जडान गरी पठाएर १० मिनेटमा १ करोड रुपैयाँ जितेर भागेका थिए । ती भारतीयले राखेको मेसिनले जोकर बाहिर निकाल्ने र नचाहिने तास भित्र पठाउने गरेर उक्त रकम जितेको आरोप प्रहरीले लगाएको थियो ।
५४ लाखको चेक र ४४ लाख २१ हजार नगदसहित क्यासिनोबाट जुवा जितेका ती भारतीयलाई कविन शाक्यले आफ्नै गाडीमा आफैले चलाएर ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा लगेका थिए । होटलमा खाइपिई गरेपछि विवाद र होहल्ला भएपछि प्रहरीलाई खबर गरी उनीहरु पक्राउ परेका थिए । प्रहरीले शाक्यको गाडीबाट ५४ लाखको चेक र ४४ लाख २१ हजार बरामद गरेको थियो । तर, शाक्यले प्रहरी सेटिङ गरी मुचुल्का फेरेर होटलबाट बरामद गरेको भनी उन्मुक्ति पाएका थिए । उनले ठूलै रकम प्रहरीलाई दिएर होटलबाट बरामद भएको भनी मुचुल्का फेरेका थिए । यदि गाडीबाट रकम बरामद भएको मुचुल्का भएको भए लुटपाटको रकम सहित उनको गाडी जफत हुने थियो । उनलाई नायिका सुष्मा कार्कीले छुटाएर लगेकी थिइन् ।
अरुण सेढाई गाडी चोरी तथा मिटरब्याजी गिरोहका नाइके हुन् । उनी गाडी चोरी गरी कीर्ते ब्लुबुक समेत बनाएको अभियोगमा अदालतबाट संजाय भोगिसकेका हुन् । २०६३ कात्तिक २० मा उनलाई कीर्ते ब्लुबुक बनाएर चोरीको गाडी बिक्री गर्ने गरेको आरोपमा कसुरदार ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालत पाटनले पनि जिल्लाकै फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले पनि भन्सार नतिरी ल्याएको गाडीको नक्कली कागजात तयार गरेको अभियोगमा सेढाईलाई दोषी ठहर गरेको थियो । मिटरब्याजी अरुण सेढाई सिक्किमको नक्कली परिचयपत्र बनाउँदै क्यासिनोमा नेपाली प्रवेश गराउने र उनीहरु जुवा हारेपछि मिटरब्याजमा लगानी गर्दैआएका थिए । नेपालीलाई क्यासिनो प्रवेशमा कडाइ गरेपछि उनले नक्कली परिचयपत्र बनाउँदै छिराउने गरेका थिए ।
मिटरब्याजको अर्थ ?
मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रक्रिया हो । यस प्रक्रिया अन्तर्गत कर्जा लिने ले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सातदेखि १० हजार रुपैयाँ ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुदाँ लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार हुन आउँछ । जब कि धितो राखेर मासिक अधिकतम २ देखि ३ हजार रुपैयाँमात्रै ब्याज पाइन्छ ।
मिटर ब्याज र साधारण ब्याज को यो दूरीले एउटा सानो सानो परिवारको घरखर्च नै चल्ने भएपछि केही पैसा हुनेहरु वा अरु कतैबाट कर्जा लिएर भए पनि मिटरब्याजमा लाउने गर्दछन् । भ्रष्टाचारको रकम मिटरब्याजमा दिने क्रम पनि पछिल्लो समयमा बढेको देखिन्छ । नेपालमा क्यासिनोमा हार्ने नेपालीहरुलाई दिने गरेपछि मात्र मिटरब्याजको चर्चा चलेको हो ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend