Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै दिन ८३ जनामा कोरोना संक्रमणः काठमाडौं र भक्तपुरमा पनि संक्रमित देखिए


    बुधबार, बैशाख ३१ २०७७
    585
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, ३० बैशाख । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ५७ र बेलुका २६ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि गरेको हो। यससँगै संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

    बिहान पुष्टि भएकामध्ये दुई जना सञ्चारकर्मी छन् । पछिल्लो संक्रमितमध्ये अधिकांश भारतबाट लुकिछिपी नेपाल आएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको स्वाब नमुना परीक्षण गरिएको थियो ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिउँसो प्रेस ब्रिफिङमा पर्साका ३९, रूपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना संक्रमित रहेको बताएका थिए । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेलुका जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्साकै थप १८ जनामा संक्रमण देखिएको छ । यस्तै, महोत्तरी, धनुषा र भक्तपुरका २÷२, काठमाडौं र सर्लाहीका १÷१ जना संक्रमित छन् ।

    ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षण भइरहेको छ । स्वाब संकलन र परीक्षण दायरा विस्तार गरिएको छ। मुलुकका सातै प्रदेशमा रहेका ८ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।

    प्रवक्ता डा. देवकोटाका अनुसार ५९ हजार ६ सय २७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ। पीसीआर विधिबाट १८ हजार ९ सय ६४ नमुना परीक्षण गरिएको उनले बताए । पछिल्लो पटक थप २ हजार २ सय ३६ वटा परीक्षण भएका छन् ।

    मुलुकभरका क्वारेन्टाइनमा १२ हजार ७ सय ८५ जना बसिरहेका छन् । आइसोलेसनमा रहेकाको संख्या २ सय २८ छ ।

    कोरोनाको भुंग्रोमा प्रदेश २

    प्रदेश नम्बर २ कोरोना संक्रमणको भुंग्रोमा परेको छ । भारतबाट प्रवेश गरेका जमातीको सम्पर्कमा रहेका व्यक्तिबाट संक्रमण फैलिएको जनाइएको छ । प्रदेश २ का ८ जिल्ला भारतीय सीमासँग जोडिएका छन्। बिहार राज्यका जिल्लासँग जोडिएको प्रदेश २ का पर्सा, महोत्तरी, बारा, रौतहट, धनुषा र सर्लाहीमा संक्रमित फेला परेका छन्। प्रदेश २ मा १ हजार ५ सय ३४ जना क्वारेन्टाइनमा बसिरहेको प्रवक्ता डा. देवकोटाले बताए। ८० जना आइसोलेसनमा छन् ।

    यस्तै, प्रदेश नम्बर ५ का नागरिक कोरोनाको उच्च जोखिममा देखिएका छन् । भारतको मुम्बईबाट आएका व्यक्तिले संक्रमण बढाएको पाइएको छ । कपिलवस्तुमा स्थानीय प्रशासनले जिल्ला सिल गरेको छ । भारतसँग सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाउँपालिका, बुद्धभूमि नगरपालिकामा नयाँ संक्रमित फेला परेका हुन् ।

    कपिलवस्तुपछि बाँकेको नेपालगन्जमा संक्रमित बढी देखिएका छन् । तेस्रोमा रुपन्देही जिल्ला प्रभावित भएको छ । बर्दियाको राजापुर–५ की ११ वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ ।

    कपिलवस्तु र रूपन्देहीका संक्रमित बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत छन् । बाँके र बर्दियाका संक्रमितको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा भइरहेको छ । उक्त प्रदेशमा ५ हजार ४ सय ४२ जना क्वारेन्टाइनमा बसिरहेको डा. देवकोटाले बताए । ९८ जना आइसोलेसनमा छन् । आजको अन्नपूर्ण पोष्टबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार