काठमाडौं । मासु काट्ने कसाइको कामको आडमा मानिस मारेर मानिसको मासु खाने एक कसाइ पक्राउ परेका छन् ।
मेक्सिकोका आन्द्रेस नाम गरेका यी सिरियल किलरकाे घरमा ३ हजार ७८७ वटा मानव हड्डी भेटिएका छन् । यी हड्डीहरु १७ जना फरक फरक मानिसहरुको भएको जाँचमा पाइएको छ । उनले मानिसहरुको अवशेष आफ्नो घरमा जमिनमा गाडेका थिए ।
द सनको रिपोर्टअनुसार आन्द्रेसको घरको कंक्रिटको भुइँमुनि गाडिएको अवस्थामा यी हड्डीहरु भेटिएका हुन् । ७२ वर्षका यी पूर्व कसाइ नरभक्षी सिरियल किलर भएको आशंका थियो ।
उनलाई अदालतमा आधिकारिक रुपमा एक सेवारत पुलिस अधिकारीकी पत्नीको हत्याको अभियोगमा पेश गरिएको थियो ।
उनको घरको उत्खनन गर्ने जाँचकताृहरुले शनिबार बताएअनुसार उनीहरुले अहिलेसम्म ३ हजार ७८७ हड्डीका टुक्रा भेटेका छन् जो १७ अलग अलग पीडितका हुन् । १७ मे देखि गरिएको उत्खननमा अधिकारीहरुले त्यो घरको भुइँ खनेका छन् जहाँ आरोपी बस्थे ।
वर्षौं पहिले हराएका मानिसहरुका परिचय पत्र र अन्य सामान कवाडीले भरिएको घरमा पाइएका छन् । यसबाट हत्या कैयौं वर्षदेखि भइरहेको खुलासा भएको छ ।
यी सिरियल किलरलाई अहिले पक्राउ गर्नुको कारण उनको पछिल्लो शिकार बहालवाला पुलिस कमाण्डरकी पत्नी थिइन् जसलाई उनले व्यक्तिगत रुपमा चिन्थे । रिपोर्टका अनुसार पुलिस अधिकारीकी पत्नी आन्द्रेससँग सपिङ गएकी थिइन् र त्यही क्रममा हराएकी थिइन् त्यसैले सीधा शंका आन्द्रेसमाथि नै गएको थियो ।