एजेन्सी । १६ औँ संस्करणको युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।
वेम्बली स्टेडियममा इंग्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले एकमात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।
त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्याण्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केही गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।
यस जितसँगै समूह ‘डी’ को इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ । विश्वकप उपविजेता समेत रहेको क्रोएसिया समूहको पुछारमा रहेको छ ।
यस्तै,हिजो राती नै भएको अर्को खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ।
रोमानियाको बुचारिस्टमा भएको खेलमा अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक एक गोल गरे ।
म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।
यस जितसँगै समूह ‘सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ । म्यासेडोनियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।