काठमाडौं, ३० बैशाख । लैनचौरस्थित भारतीय दुतावासअगाडिबाट मानवअधिकारवादी कृष्ण पहाडी पक्राउ परेका छन् । लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका उनीसहितका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मानव अधिकार तथा शान्ति समाजका एक अभियन्ताका अनुसार अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए ।
भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि यसको आलोचना भइरहेको छ । यसको विरोधमा केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् ।