काठमाडौं, ३० बैशाख । प्रहरी प्रधान कार्यालयले मोरङ, कास्की, बाँके लगायतका जिल्लाका एसपी सरुवाको तयारी गरेको छ । मोरङका एसपी विश्व अधिकारी, कास्कीका दानबहादुर कार्की र बाँकेका वीरबहादुर ओलीको १ बर्ष अवधि पुगिसकेको छ ।
त्यस्तै १ बर्ष अवधि पगेका सिरहाका उमाप्रसाद चतुर्वेदी र कपिलबस्तुका दीपशमशेर राणा पनि हुन् ।
मोरङ, बाँके र कास्कीको एसपीमा सरुवा हुनका लागि चर्को प्रतिस्पर्धा छ । सबैभन्दा बढी जोड मोरङका लागि छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रवीण पोखरेल मोरङमा सरुवा हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् भिटो प्रयोग गरिरहेका छन् । अख्तियारको भनसुनमा यसअघि हेम थापा रुपन्देही, कृष्ण पँगेनी बारा, कृष्ण कोइराला झापा सरुवा भएकाले पनि उनी मोरङमा हुने कुरामा ढुक्क देखिएका छन् ।
पाँचवटा जिल्लामा सरुवा हुनका लागि एसपीहरु सन्तोष खड्का, ओम राना, नवराज अधिकारी, प्रकाश रानाभाट लगायतको पनि दौडधूप छ । इन्चार्जबाट इन्चार्ज हुन केही एसपी दैनिकजसो गृहमा धाउने गरेका छन् ।
इन्चार्जबाट इन्चार्ज हुन केही एसपी दैनिकजसो गृहमा धाउने गरेका छन् । प्रकाश रानाभाट बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय हेटौंडाको प्रमुखबाट पुनः जिल्लाको इन्चार्ज हुनका शक्तिकेन्द्र धाइरहेका छन् । रानाभाटले मोरङकै इन्चार्ज ताकेका छन् । एसपी रानाभाटले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा हुँदा तत्कालीन महानिर्देशक जीवन सिटौलासँग मिलेर उजुरी परेकाहरुसँग मोलमोलाई गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । एसपी रानाभाटले क्यासिनो रोयल प्रकरणमा नक्कली भारतीय नोटका कारोबारी सुनिलजंग रायमाझी, विवादित महिला अन्जली श्रेष्ठ, जयन्ती थापा, बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठसँग मिलेर पचास लाख भन्दा बढी घुस असुली गरी सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरी नै ढिसमिस पारेको आरोप लागेको थियो । उनी प्रहरीको कर्मचारी प्रशासन शाखामा हुँदा पनि सिपाही हवल्दारको सरुवामा समेत घुस असुली गर्ने भनी चिनिन्छन् । अहिले पनि उनले कप्रबाट सरुवामा सेटिङ गर्ने गरेको प्रहरी स्रोतले बतायो ।
त्यसैगरी, सन्तोष खड्का एआइजी हरिबहादुर पाल २ नम्बर प्रदेशको डीआइजी हुँदा उनका घुमुवा बसी असुलीमा पारंगत भनेर चिनिन्छन् । उनलाई कास्की सरुवा गराउन एआइजी पाल नै लागेका छन् । अर्का विवादित एसपी ओम रानालाई बाँके लैजानका लागि उपराष्ट्रपति पुत्र दिपेश पुन र गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक रातदिन लागिरहेका छन । बौद्धको डीएसपी, रसुवा हुँदै कास्कीको एसपी हुँदा पनि उनी असुलीमा उत्तिकै बदनाम भएका हुन् ।
राना रसुवाको डीएसपीमा कार्यरत रहँदा प्रहरी र सेनाको मिलेमतोमा रक्तचन्दन तस्करी भएको पुष्टी भयो । रक्तचन्दन तस्करीकै आरोपमा रसुवाको अहिरमर्दन गणका गणपति कर्णेल रामजी थापालाई कोर्टमार्सल भयो, तर मुख्य सेटिङ गर्ने तत्कालीन डीएसपी रानालाई उन्मुक्ति दिइएको थियो । राना अहिले महानगरीय प्रहरी आयुक्त कार्यालयका घुमुवा इन्चार्ज हुन् । उनी कास्कीको एसपी हुँदा पनि उत्तिकै विवादमा परेका थिए । सरुवा हुने बेलामा पनि मेडिकल माफिया खुमा अर्याललाई पक्राउ गरी तत्कालै मुद्दा बुझाएबापत ठूलो रकम घुस खाएको आरोप उनीमाथि लागेको थियो । क्षमता नै नभए पनि खानेपानी मन्त्री विना मगरको जोडबलमा एसपीमा बढुवा भएका नवराज अधिकारी पनि पाँच जिल्लामध्ये एक ताकिरहेका छन् ।