काठमाडौं, ३० बैशाख । सशस्त्र प्रहरीको एसपी बढुवा सिफारिसलाई लिएर महानिरीक्षक शैलेन्द्र खनालको संगठनभित्र आलोचना बढेको छ । दुई कारणले एसपी बढुवा सिफारिस विवादमा परेको हो । पहिलो बढुवामा विवादास्पदहरु परेका छन् भने स्टाफ कलेजका गरेका डिएसपी छुटेका छन् । दोस्रो कारण कार्यविभागका डिआईजीलाई बढुवा समितिमा राखिएको छ ।
गत शुक्रबार महानिरीक्षक खनाल नेतृत्वको बढुवा सिफारिस समितिले २२ डिएसपीलाई एसपीमा बढुवा सिफारिस भएको थियो । सिफारिसमा परेका डिएसपी हर्कबहादुर बिष्ट संगठनकै विवादास्पद अधिकृत हुन् । जो कार्यालयमै सधैंजसो मदिरा पिउने गर्दछन् । ‘हर्कबहादुर बिष्ट र मात्रिका कोइराला सबैभन्दा बढी मदिरा पिउने अधिकृत मानिन्छन्,’ सशस्त्र प्रहरीका एक अधिकारी भन्छन्,‘बिष्ट बढुवामा परेका छन् तर स्टाफ कलेज गरेका क्षमतावान अधिकृतहरुलाई छुटाइएको छ ।’
आफू पूर्व गृहमन्त्री भीम रावलको खास मान्छे बताउने पूर्ण बहादुर साउद पनि बढुवामा पर्न सफल भएका छन् । उनी संगठनमा काम भन्दा पैसाको पछि लाग्ने र नेताहरुलाई खुशी बनाउने अधिकृतका रुपमा चिनिन्छन् । उनी जुनियर अधिकृत समेत हुन् । यसपटकको बढुवामा सिंस २ का धेरै जना परेकोमा उनी त्यो ब्याचभन्दा जुनियर हुन् । साउद सशस्त्रको खरिद हेर्ने सधैं बजेट र प्रबन्धमा बसी अकूत सम्पत्ति कमाउनेभित्र पर्दछन् ।
स्टाफ कलेज गरेका राजु गौतम, शशी पाण्डे, चित्रांगत दाहाल, राजकुमार लामिछाने, गगन श्रेष्ठ, कृष्णराज अधिकारी लगायतका डिएसपी भने छुटेका छन् ।
उता बढुवा समितिको सदस्य सचिवमा कार्यविभागमा कार्यरत डिआईजी मन्दिप श्रेष्ठलाई राखिएकोमा पनि धेरैले आश्चर्य मानेका छन् । बढुवा समितिमा सधैं मानवस्रोत विकास विभागका डिआईजी हुन्छन् । बढुवामा आफू निकटलाई मात्र राख्न यसरी कार्य विभागका डिआईजीलाई राखिएको आरोप महानिरीक्षकमाथि लागेको छ । डिआईजी श्रेष्ठ बाहिनीपति हुँदा राशन अनियमिततामा मुछिएका थिए ।