Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई न्यायाधीशसामु नैतिक प्रश्न– विवादबीच इजलासमा बस्ने कि नजिर मानेर बाहिरिने ?


    सोमबार, जेष्ठ १७ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित परेका रिटउपर सुरु भएको बहसमा निवेदक र विपक्षी दुवैले संवैधानिक इजलास गठन र अदालतको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । निवेदक पक्षले विघटनसँग ‘सार्थक सम्बन्ध’ राख्ने न्यायाधीशहरू इजलासमा राखिएको भन्दै आपत्ति जनाएका छन् भने सरकारी पक्षले ‘बाहिरबाट’ इजलास नियन्त्रित गर्ने प्रयास भएको आरोप लगाएको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो नेतृत्वमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठसहितको इजलास गठन गरेका थिए । शुक्रबार पहिलो दिन नै इजलासबारे निवेदक पक्षले प्रश्न उठाएको थियो । आइतबारको सुनुवाइमा पनि सुरुमै कानुन व्यवसायीले त्यही माग दोहो¥याए, इजलास गठनका विषयमा कुरा राख्न उनीहरूले एक घन्टाको समय मागे । 

    बहसको सुरुमै अधिवक्ता गोविन्द बन्दीले भने, ‘बमकुमार श्रीमान्ले नेकपाको नाम विवादको जुन फैसला गर्नुभयो, त्यसले कम्युनिस्ट पार्टीलाई विभाजन गर्यो भन्ने चर्चा छ श्रीमान् । त्यो फैसलाको रिभ्युमा बस्नुभएकाले तेजबहादुर श्रीमान पनि यो इजलासमा बस्न मिल्दैन ।’ नेकपा विवादको फैसला गलत भएको भन्दै सबैतिर चर्चा चलेको उनको भनाइ थियो । 

    अधिवक्ता बन्दीको प्रश्नमाथि प्रधानन्यायाधीश जबराले तत्कालै प्रतिक्रिया जनाए । उनको भनाइ थियो, ‘त्यो फैसला सही थियो कि गलत त्यतातिर नजानुस् न ! तपाईंले त्यसमा बहस गर्नै पाउनुहुन्न । के जोडिएको छ यो मुद्दासँग, त्यो मात्रै भन्नुस् !’ त्यसपछि बन्दीले इजलासमा बस्ने वा नबस्ने भन्ने विषयमा दुवै न्यायाधीशले सोच्नुपर्ने भन्दै बहस टुंग्याए । उनले शुक्रबार पनि यो विषय उठाएका थिए ।

    उनीपछि आएका वरिष्ठ अधिवक्ताद्वय महादेव यादव र बद्रीबहादुर कार्कीले पनि न्यायाधीशद्वय श्रेष्ठ र केसीले यो विषयलाई अन्यथा नठानी इजलास छाड्नुपर्ने बताए । कार्कीलाई प्रधानन्यायाधीश जबराले सोधे, ‘यो मुद्दासँग त्यो मुद्दाको सार्थक सम्बन्ध के हो ?’ 

    जवाफमा कार्कीले ऋषि कट्टेल निवेदक भएको मुद्दामा न्यायाधीश श्रेष्ठसहितको इजलासले नेकपा विभाजनको फैसला गरेको बताएका थिए । उक्त फैसलामाथि पुनरावलोकनको निवेदन पर्दा प्रधानन्यायाधीश जबरा र केसीसहितको इजलासले निस्सा दिन अस्वीकार गरेको थियो । कार्कीलाई जबराले प्रतिप्रश्न गरे, ‘म पनि त्यसैमध्ये हुँ नि ! त्यसरी कहाँ भन्न पाइयो त ? प्रश्न उठाउनु बारको अधिकार हो । यसरी हेर्दा त मेरो पनि नैतिक दायित्व पर्दैन ?’ जवाफमा कार्कीले भने, ‘त्यो त श्रीमान्ले नै विचार गर्नुस् ।’

    त्यसपछि बहस गर्न आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि इजलास गठनमा प्रश्न उठाए । ‘पार्टीको नाम एउटै भयो भनेर आएको निवेदनमा उहाँहरूले पार्टी नै ब्रेक गर्ने फैसला दिनुभयो । एकीकरण भएका दुवै पार्टी आ–आफ्नो ठाउँमा जानुस् भन्दिनुभयो,’ फैसलाले प्रधानमन्त्री केपी ओलीलाई फाइदा पु¥याएको जिकिर गर्दै थापाले इजलासमा भने, ‘यो फैसलाबाट लार्जेस्ट पार्टीले धारा ७६(२) बमोजिम सरकार गठन हुन पाएन भने ७६(३) बमोजिम सरकार बन्यो । फेरि उहाँ (प्रधानमन्त्री ओली)लाई नै प्रधानमन्त्री नियुक्त गर्नुप¥यो ।’ त्यही फैसलाले समस्यामा परेकाहरू नै फेरि ओलीविरुद्ध मुद्दा लिएर आएकाले दुईजना न्यायाधीश इजलासमा बस्न नहुने उनको भनाइ थियो । भारतमा पनि इजलासमा प्रश्न उठ्दा न्यायाधीश नबस्ने गरेका उदाहरण रहेको उनले बताएका थिए । 

    वरिष्ठ अधिवक्ता थापाले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले यसअघि आफूले पनि विघटनको मुद्दा हेरेको भन्दै उनलाई सोधे, ‘मेरोबारे तपाईंको धारणा के छ ?’ थापाले एक वाक्यमै जवाफ दिए, ‘श्रीमान् पनि बिदामा बस्नुभए हुन्छ ।’

    वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रश्न उठेको विषयलाई अन्यथा नसोच्न न्यायाधीशद्वयलाई आग्रह गरे । उनले भने, ‘श्रीमान्हरूले असहज मानेर सोच्नुभएन । उदार दृष्टिकोणले सोच्नुहोला ।’ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि व्यक्तिगत रूपमा क्षमतामाथि प्रश्न उठाएको नसोचिदिन श्रेष्ठ र केसीलाई आग्रह गरे । 

    अधिवक्ता टीकाराम भट्टराईले न्यायाधीशद्वय श्रेष्ठ र केसीको योग्यतामाथि विश्वास भए पनि प्रश्न उठिसकेपछि विचार गर्नुपर्ने बताए । दुवैजना यो मुद्दाबाट अलग हुनुपर्ने उनको सुझाब थियो । ‘न्याय भएको देखिनका लागि पनि उहाँहरू अलग हुन जरुरी छ । एक पक्षलाई इजलास पक्षपातपूर्ण हुन्छ भन्ने लाग्छ भने प्रश्न उठाउन पाउँछ । सुनुवाइमा पूर्वाग्रह हुँदैन भन्ने लाग्नुपर्छ,’ उनको भनाइ थियो ।

    अधिवक्ता मिथिलेशकुमार सिंहले पनि यही विषय उठाउँदा प्रधानन्यायाधीश जबराले असन्तुष्टि जनाउँदै प्रश्न गरे, ‘तपाईंहरूले जे बहस गर्नुहुन्छ तथ्य, कानुन र संविधानमा आधारित हुनुप¥यो । तपाईंहरूलाई न्यायाधीश छान्ने अधिकार छैन । अब यो अधिकार तपाईंहरूलाई दिऊँ त ?’ जवाफमा सिंहले ऋषि कट्टेलको मुद्दाको विषय उठाउन खोजे, तर उनलाई इजलासले रोक्यो । अन्तिममा उनले, ‘श्रीमान्को मनले जे भन्छ त्यही गर्नुस्’ भन्दै बहस टुंग्याए ।’ नयाँ पत्रिका दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार