उदयपुर, २८ बैशाख । उदयपुरमा थप तीन सय जनामा कोरोना परिक्षण गर्ने भएको छ । शनिबार भुल्केमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप तीन सय जनामा कोरोना परिक्षण गर्न लागिएको हो ।
सोमबार ३ सय जनाको स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले बताए।
उनले संक्रमणको जोखिम फेरि बढेको बताउँदै भने, 'हामी भुल्के आसपासमा रहेका परिवारका सदस्यको स्वाब परीक्षणको लागि काठमाडौं पठाउँछौं ।'
यसअघि उदयपुरमा संकलित स्वाब विराटनगरको प्रयोगशालामा पठाउने गरिएको थियो। यसपटक भने प्रयोगशालामा चाँप बढेका कारण काठमाडौं पठाउन लागिएको सुवेदीले जनाए।
हिजो भुल्केका चार जना महिलामा कोरोना पुष्टि भएको थियो। उनीहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।
भुल्केमा मात्र ३२ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमा १४ जना निको भएका छन्।
गत वैशाख ५ गते पहिलोपटक भुल्केको एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनामा संक्रमण देखिएको थियो। पछि बाँकी चार जनामा पनि संक्रमण पुष्टि भयो। सो यता भुल्के सिल गरिएको छ।