काठमाडौं, २१ फागुन । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसका कारण विश्व नै त्रसित भइरहेको छ । नेपालले भिजिट नेपाल २०२० को कार्यक्रम नै स्थगित गरेको छ ।
कोरोना भाइरसका कारण संक्रमण बढ्ने देखिएपछि राजनीतिक दलहरुले पूर्वघोषित कार्यक्रम नै रद्द गरेका छन् । भेला गर्न, भीडभाडबाट टाढा रहन सरकारले नागरिकमा आह्वान गरिसकेको छ । सुरक्षा निकायमा कार्यरत जनशक्ति समूहमा रहनेभएकाले सम्भावित खतराबारे समयमै सतर्कता अपनाउन लागिएको छ । प्रहरीले तालिम, गस्ती, छापा हान्ने लगायतका कार्य समूहमा गर्दै आएको छ । यसबाहेक सभा सम्मेलन, भिडभाड हुने स्थानमा समेत प्रहरीको उपस्थिति रहने गर्छ ।
प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत् आन्तरिक रुपमा कोरोनाबाट जोगिने उपायबारे सचेतना सुरु गरेको छ । ‘विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन नेपाल प्रहरीले निर्देशन दिइसकेको छ । त्यसबाहेक साबुनपानीले हात घुने, स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य परीक्षण लगायतको व्यवस्था गरेको जानकारी प्रहरीले दिएको छ ।