काठमाडौं । नेकपा (एमाले) को नवौं महाधिवेशनबाट निर्वाचित भएपछि गठित २२ स्थायी समिति सदस्यमध्ये १३ जनाको साथ बरिष्ठ नेता माधवकुमार नेपालले पाएका छन् । पदेन २ सहित १५ स्थायी समिति सदस्यको बुधबार बसेको बैठकले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।
सर्वोच्च अदालतमा सोमबार दर्ता गरिएको रिटमा हस्ताक्षर नगरेका नेता योगेश भट्टराई र गोकर्ण बिष्ट पनि बुधबारको स्थायी समिति बैठकमा सहभागी भएका छन् । भट्टराई र बिष्टको सहभागिताले प्रधानमन्त्री ओलीबिरुद्ध प्रतिनिधिसभामा १४९ सांसदको संख्या जुटेको छ । योगेश भटट्राई बुधबारको स्थायी समिति बैठकमा सहभागी भएपछि उनीनिकट सिन्धुलीका सांसद गणेश पहाडी पनि थपिनेछन् । पहाडीसमेत थपिंदा माधव पक्षमा लाग्ने सांसदको संख्ष्या २६ हुनेछ । यसअघि माधव नेपाल पक्षका २३ सांसदले सर्वोच्च अदालतमा दर्ता भएको रिटमा हस्ताक्षर गरेका छन् ।
रिटमा योगेश भट्टराई, गोकर्ण बिष्ट र गणेश पहाडीले हस्ताक्षर गरेका थिएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा आफूले हस्ताक्षर नगरेको भट्टराईले बताएका थिए भने बिष्टले ज्वरो आएका कारण रिटमा हस्ताक्षर गर्न नआएको प्रष्टिकरण दिएका थिए ।
आजको स्थायी समिति बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका ११ जना नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेकोमा भत्र्सना गर्नुका साथै उनले पार्टी र देशलाई स्वेच्छाचारी कदमबाट चलाएको भन्दै कडा आलोचना गरेको छ ।
स्थायी समितिको बैठकले ओलीका कदमविरुद्ध एकजुट हुन एमालेका नेता तथा कार्यकर्ताहरुलाई पनि आह्वान गरेको छ ।