चितवन, २७ बैशाख । लागूऔषधको कारोबार गर्नेदेखि दुब्यर्सनीसम्मलाई पक्राउ गर्नुपर्ने प्रहरीकै मिलेमतोमा नगरपालिकाको गाडीमा गाँजा बोकिएको भन्दै स्थानीयले खुलेरै आरोप लगाएपछि चितवनका एसपी नान्तिराज गुरुङ विवादमा परेका छन् । र, उनीमाथि छानबिन गर्नुपर्ने आवाज उठेको छ । गाँजा प्रकरणमात्र होइन, पछिल्लो समय चितवनका प्रहरी प्रमुख एसपी गुरुङको कमजोर कमाण्डका कारण चितवनमा आपराधिक क्रियाकलाप बढ्न थालेको छ ।
प्रहरीलाई दिएको गाडी शंकास्पद काममा प्रयोग गरिएको भन्दै रत्ननगर नगरपालिकाले फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन दिएको छ ।
.jpg\")
नगरपालिका भन्दा बाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग भएको पाइएपछि नगरपालिकाले पूर्ववत अवस्थामा गाडी फिर्ता गर्न निर्देशन दिएको हो ।
रत्ननगरले दिएको गाडी शुक्रवार राति गाँजा बरामद गरी फर्कदै गर्दा स्थानीयवासीसँगको झडपका क्रममा तोडफोड भएको थियो ।
प्रहरीकै मिलेमतोमा नगरपालिकाको गाडीमा गाँजा बोकिएको स्थानीयको आरोप छ । लकडाउनको समयमा गाँजा तस्करलाई चितवन प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई प्रहरीले एकाएक दमन गर्नुले प्रहरीकै संरक्षणमा गाजा खेती खुलेआम भइरहेको एक स्थानीय वताउंँछन् ।
यो घटना वाहिर आएपछि नगरपालिकाले इलाका प्रहरी कार्यालयको गतिबिधिप्रति असन्तुष्टी जनाउँदै गाडी फिर्ता गर्न भनेको हो ।
रत्ननगर क्षेत्रमा लकडाउन प्रभावकारी कार्यान्वयनका लागि भन्दै नगरपालिकाले लकडाउन सुरु भएपछि टाँडी प्रहरीलाई बा १२ च २७१ नम्वरको गाडी यो संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै दिएको थियो ।
शुक्रबार राती गाँजा बोकेको गाडीको बिषयमा भएको झडपमा परी प्रहरीतर्फ तीन जना घाइते भएका छन् भने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अबैध ३४ केजी गाँजा बरामद गरेको पनि जनाएको छ ।
यता नगरपालिकाको अनुमति नलिई कार्यक्षेत्र भन्दा वाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले शनिवार विज्ञप्ति जारी गरी गाडी फिर्ता गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा नगरपालिकाको अनुमति नलिई इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरबाट अन्य प्रयोजनका लागि प्रयोग भएको देखिएको, नेपाल प्रहरी र स्थानीयवासीबीच झडप भई हवाई फायर समेत गर्नु पर्ने अवस्था सिर्जना भएको र नगरपालिकाको सवारी साधन तोडफोड भई क्षती भएको घटनाको नगरपालिकाले खेद प्रकट गरेको उल्लेख छ ।
सो सवारी साधन पूर्ववत अवस्थामा नै अविलम्व फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन समेत दिइएको छ । सो घटनाको अनुसन्धान गर्नका लागि सम्वन्धित निकायलाई रत्ननगर नगरपालिकाले अनुरोध पनि गरेको छ ।
यसैबीच, मकवानपुरमा पनि प्रहरीको भूमिकालाई लिएर प्रश्न उठेको छ । ३ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआइजी वसन्त लामाले कार्यभार सम्हालेको एक महिना नबित्दै नेपाल प्रहरीले गाँजा तस्करलाई संरक्षण गर्न थालेको गुनासो बढेको छ । प्रहरीले गाँजा तस्करालाई संरक्षण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले ठुलो परिमाणमा गाँजा बरामद गर्न थालेको छ । मकवानपुरमा केही दिनअघि मात्र सशस्त्रको टोली ५० केजी गाँजा बरामद गरेको थियो ।