चितवन, २० फागुन । रत्ननगर नगरपालिका र जिल्ला समन्वय समिति चितवनले कयर खोलामा तोकिएकोभन्दा बढी घनमिटर बालुवा दोहन गर्न छुट दिएका छन् । नगरपालिकादेखि प्रहरी प्रशासन, जिल्ला समन्वय समितिलाई मात्र नभएर विप्लव माओवादीसम्मलाई घुस दिएर नवीन निर्माण सेवाले मापदण्ड विपरीत र अनुमतिभन्दा बढी गिट्टी, बालुवा र ग्राबेल उत्खनन् गर्दैआएको छ । उसले दैनिक २ सय १४ घनमिटरमात्र बालुवा र गिट्टी उत्खनन् गर्न पाउने अनुमति लिएको छ ।
बालुवाको ठेक्का पाएको नवीन निर्माण सेवाले दैनिक ५ सय घनमिटरसम्म बालुवा उत्खनन् गरिरहेको छ । १ मिटर भन्दा बढी खन्न नपाउने गरी अनुमति दिएकोमा त्यो भन्दा धेरै गहिरो गहिरो खन्दै बालुवा उत्खनन् गर्दैआएको छ । जसका कारण त्यस क्षेत्रका गाउँ नै डुबानमा पर्ने खतरा बढेको छ । अरुले बालुवा उत्खनन् गरेमा ३ घनमिटर बालुवाको १३ सय रुपैयाँ तिर्नुपर्छ । तर नवीन निर्माण सेवाले भने नतिरी खोलाबाट बालुवा ओसार्ने गरेको छ । र, अरु बालुवा ओसार्नेहरुसँग कर पनि उसैले लिने गरेको छ ।
केही दिनअघि खैरहनी इलाका प्रहरी कार्यालयले एउटै नम्बरका बिल भेटिएपछि नवीन निर्माण सेवाका २ वटा गिटी बालुवा उत्खनन् गर्ने मेसिन र ट्याक्टर बरामद गरी लगेको थियो । तर २ दिनपछि विनाकारबाही भित्रभित्रै घुसमा मोलमोलाई गरी छाडिएको थियो ।
एउटै बिल नम्बर प्रयोग गरी बालुवा ओसारेको प्रमाण पाइए पनि छाडिएको बिषयमा प्रहरीसमेत मुछिएको छ । नवीन निर्माण सेवालाई रत्ननगर नगरपालिकाले ४ महिनामा १ करोड ९ लाख रुपैयाँमा ठेक्का दिएको छ । यसरी ठेक्का लिएर उसले मनपरी नदी दोहन गर्दा पनि नगरपालिकाले अनुगमन गरेको छैन ।
पूर्वी चितवनमा पर्ने कयर खोलामा ठेकेदारलाई खुलेआम मेसिनको प्रयोग गरी नदीको दोहन गर्ने छुट नगरपालिकाले दिएको हो । घुस लिंदै नदी दोहन मनपरी ढंगले गर्न छुट दिइएको छ । ठेकेदार नवीन निर्माणको रकममा पालिएकाहरूले संरक्षण गरेकै कारण अहिले कयर खोलामा खुलेआम दोहन भइरहेको छ । न कुनै मापदण्डको पालना गरिएको छ, न त मापदण्डअनुसार अनुगमन गर्ने नियमनकारी निकायले नै यो दोहनमा चासो दिएका छन् । नगरपालिका र जिल्ला समन्वय समितिले टेण्डर प्रक्रियामार्फत् ठेक्कामा लगाएको उक्त खोलामा हातेऔजारको मात्रै प्रयोग गरेर ग्राबेल उत्खनन् गर्नुपर्ने सम्झौता भए पनि यहाँ भने वातावरणीय मूल्यांकन विपरीत ग्राबेल उत्खनन भइरहेको छ ।
जिल्ला समन्वय समितिले ढुंगा, गिट्टी ग्राभेल, बालुवा बिक्री कर संकलन ठेक्का बन्दोबस्तसम्बन्धी सूचनाको ११ नम्बर बुँदामा ढुंगा, गिट्टी बालुवाको उत्खनन् तथा निकासीमा स्वीकृत आईईईमा व्यवस्थाबमोजिम औजारको प्रयोग गर्न सकिने उल्लेख गरेको छ । आईईईमा व्यवस्था गरिएको औजारमा मेसिन उल्लेख नभएको र मेसिनको प्रयोग खोलामा गर्न नपाइने छ । तर ठेकेदारले नियम विपरीत मेसिनको प्रयोग गरेर धमाधम ग्रावेल उत्खनन् गरिरहेका छन् । जसका कारण पूर्वी चितवनको रत्ननगर र खैरहनीका तीन वडाहरू जोखिममा परेका छन् । सबैभन्दा बढी रत्ननगरको वडा नम्बर १४, १५ र खैरहनीको २ वडा प्रभावित बनेका छन् । कयरको राजमार्गपछिको दोश्रो पुलको ५ सय मिटर उत्तरखण्ड नदीजन्य पदार्थ निकाल्न पर्नेमा यतिबेला ठेकेदार र तस्करहरूले पुलभन्दा दक्षिण र उत्तरतर्फ ३ देखि ४ वटा बढी एक्साभेटर प्रयोग गरिएको प्रहरी प्रशासनले देखेर पनि घुस खाएका कारण चुप लागेको छ ।
कयर खोलामा स्वीच परियोजनाद्वारा निर्माण गरिएको तटबन्ध पनि उत्खनन्का कारण जोखिममा परेको छ । स्थानीय युवाहरूले भने नियमविपरीत दक्षिणतर्फबाट ग्राबेल उत्खनन भइरहेकोमा सचेतना कार्यक्रम गर्दै विरोध गरिरहेका छन् ।