एजेन्सी, २६ बैशाख । अष्ट्रेलियाले लागु गरेको आंशिक लकडाउनलाई तीन चरणको प्रक्रियाबाट खुकुलो बनाउने तयारी थालेको छ। त्यहाँ गत मार्च देखि कोरोना भाइरस रोकथामको लागि लकडाउन लागु गरिएको थियो ।
कोरोनाभाइरसको संक्रमणमा कमी आएसँगै क्यानबेरामा जुलाईसम्म १० लाख मान्छेलाई काममा फर्काउने योजना रहेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
अष्ट्रेलियाले कोरोनाभाइरससँग लड्न देशको सीमा बन्द गरेको थियो।
दैनिक २० जनाभन्दा कम संक्रमण देखिन थालेपछि अष्ट्रेलियाका राज्यहरू लकडाउन हटाउँदै जान सहमत भएको मोरिसनले बताएका छन्।
'सधैँ डुना (सिरक) भित्र लुकेर बसे कहिल्यै पनि खतराको सामना गर्नुपर्दैन,' क्यानबेरामा उनले पत्रकारहरूसँग भने,'तर हामीलाई सिरकबाट एकदिन त बाहिर निस्किन पर्छ।'
ती तीन चरणका प्रकृया कहिलेबाट थाल्ने भन्ने निर्णय राज्य तथा क्षेत्रहरूको हातमा हुने उनले बताए।
अहिलेसम्म अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण सात हजार भन्दा कम छन् भने ९७ जनाले ज्यान गुमाइसकेका छन्। आवातजावत खुकुलो बनाउने निर्णय गरे पनि खतरा भने अझै नटरेको मोरिसनले बताएका छन्।
पहिलो चरणमा रेष्टुरेन्ट तथा क्याफेलगायत खोल्न दिने निर्णय गरिएको छ। रेष्टुरेन्ट र क्याफेले एक पटकमा १० जनामात्रै ग्राहक राख्न पाइनेछ।
त्यसपछि पनि संक्रमण नबढे दोस्रो चरणमा जानेछ। दोस्रो चरणमा जिम, सिनेमा, आर्ट ग्यालरी तथा व्यापारहरू खोल्न दिइनेछ। ती ठाउँमा एक पटकमा २० जना भेला हुने पाउनेछन्। यो बेला आन्तरिक भ्रमणका लागि पनि छुट दिइने मोरिसनले बताए।
तेस्रो चरणमा भने एक सय जनासम्मलाई भेला गर्न दिइने छ। सम्पूर्ण अफिस तथा नाइट क्लबहरू समेत खोल्न दिने गरी खाका बनेको छ। त्यतिबेला आन्तरिक भ्रमणसँगै अष्ट्रेलिया र न्युजिल्यान्डबीच उडान पनि हुनेछन्।