काठमाडौं, २५ बैशाख । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन घोषणा गरेपछि उपचार गर्न अस्पताल जाने बिरामीको संख्या घटेको छ । सेवा चालू रहे पनि बिरामी नआउँदा अवस्था नाजुक बनेको अस्पताल सञ्चालक बताउँछन् ।
आम्दानीमा ९० प्रतिशतले कमी आएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले जनाएको छ । निजी स्वास्थ्य संस्थाको छाता संगठन अफिनका अनुसार सञ्चालन खर्च भने २० प्रतिशतले वृद्धि भएको छ ।
४५ दिनदेखिको लकडाउनले गर्दा यातायात बन्द हुँदा बिरामीको चाप घटेको हो । स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले ७० प्रतिशत हिस्सा ओगटेको अफिनले जनाएको छ । निजी स्वास्थ्य संस्थामा झन्डै १ खर्ब रुपैयाँ लगानी छ ।
गत चैत ११ गतेदेखि लकडाउन निरन्तर छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले संक्रामक रोग ऐन २०२० को उपदफा २ ले दिएको अधिकार प्रयोग गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयसँगै सेवाग्राही नआउँदा आम्दानीमा भारी गिरावट आएको जनाइएको छ ।
सञ्चालकले नाफामा कमी आएको, खर्च बढेको कारण जनाउँदै अस्पताललाई बिक्री गरिने पीपीईलगायत स्वास्थ्य सामग्री तथा सेवाको आयातमा लाग्ने कर र मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गरेका छन्। त्यस्तै, निजी अस्पताललाई प्रोत्साहन र विस्तार गर्न आगामी बजेटमा दुई वर्षसम्मका लागि स्वास्थ्य उपकरण खरिदमा कर छुट व्यवस्था गर्न पनि व्यवसायीको माग छ ।
अफिनका अध्यक्ष वसन्त चौधरीले अर्थ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विद्युत् प्राधिकरण, राष्ट्र बैंक र स्थानीय तहको ध्यानाकर्षण गराउँदै राहत उपलब्ध गराउन माग गरेका हुन् । बिरामीको संख्या घटे पनि २४ सै घन्टा सेवा दिइरहनुपर्ने बाध्यता रहेको अनुरोधपत्रमा उल्लेख छ। सेवा क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन, सहुलियत दरमा ऋण दिन सरकारसँग माग गरिएको छ ।
ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले अस्पतालको आम्दानी घटेको र खर्च बढेकाले सरकारले राहत उपलब्ध गराए सेवा सञ्चालन गर्न सहज हुने बताए ।
अफिनका उपाध्यक्षसमेत रहेका अल्का अस्पतालका सञ्चालक कुमार थापाले सञ्चालन खर्च वृद्धि भएकाले सरकारसँग राहत प्याकेज माग्ने गृहकार्य भइरहेको जानकारी दिए ।
मुलुकभर ३ सय ४७ वटा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन् । यसमा झन्डै ६० हजारले रोजगारी पाएका छन्। स्वास्थ्य संस्थामा १ हजार ६ सय शय्या रहेको अफिनले जनाएको छ । आजको अन्नपूर्ण पोष्ट