काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले आज ४ बजे राजीनामा दिएका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीलाई उनले राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको राजिनामा स्वीकृत गरेकी छन् । अर्थ र सञ्चार मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले राखेका छन् । खतिवडालाई ६ महिनासम्म फेरि मन्त्री बनाउन सक्ने प्रावधान छ । तर, फेरि नियुक्ति हुने नहुने तय भइनसकेको स्रोत बताउँछ । राष्ट्रियसभाको सांसद पदको अवधि सकिएकै दिन उनले राजीनामा दिएका छन् ।
राष्ट्रियसभामा डा. खतिवडा राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । नेकपाले रिक्त राष्ट्रियसभाको सिटमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न नसक्ने भन्दै खतिवडालाई नै निरन्तरता दिने भनेपछि नेकपामा विवाद चल्दैआएको छ ।