राजेन्द्र अर्याल
…लाई भन्दा देख्नेलाई लाज भन्ने नेपाली उखान चरितार्थ भएको छ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक स्थिरताका लागि पाँच बर्षसम्म ढुक्कका साथ सरकार बनाई देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता गर्दै मत मागेको थियो, एमाले–माओवादी केन्द्र गठबन्धनले । वाम गठबन्धन बनाइएको भए पनि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउनका लागि मतदाताले नेकपालाई मत दिएका थिए । जनताले झण्डै दुईतिहाई मत पनि दिए ।
त्यसपछि पार्टी एकता पनि भयो, ओलीको नेतृत्वमा सरकार पनि बन्यो । जनता हर्षित भए, कर्याकर्ता उत्साहित भए । अब देशले काँचुली फेर्ने भयो, जनताको समृद्धिको सपना साकार हुने भयो भनेर । तर पार्टी एकता र ओली नेतृत्वको सरकार बनेकोमा केही देशी विदेशी तत्व नाखुस थिए, जो सल्बलाउँदै सुरुदेखि षडयन्त्रका तानाबाना बुन्न उद्यत देखिन्थे । त्यही पृष्ठभूमिमा २ बर्ष बित्न पाउदा नपाउँदै सत्तारुढ दलमा ओली हटाउने खेल भयो, जुन दुःखद् हो । त्यो पनि सिङ्गो विश्व कोरोना संक्रमणसँग लडिरहेको बेला यस्तो हुनु झन् दुःखद हो । यो कुराले नेकपालाई मत दिएका जनताको अपमानमात्र भएको छैन जनमतमाथि बलत्कार हुन पुगेको छ ।
बिश्व कोरोना भाइरसबाट आतंकित भइरहेको बेला राज्य तथा सम्पूर्ण पार्टी एकजुट भएर यो महामारी विरुद्धमा लाग्नुपर्ने हो । तर यो बिषम परिस्थितिमा एउटै पार्टीभित्रको यो भाँडभैलो, कुर्सीको खेलले जनतामा निराशा छाएको छ भने कार्यकर्तामा चिन्ता, आक्रोश र बितृष्णा बढेको छ । देशमा स्थिरता भएको र विकास हेर्न नचाहने, कम्युनिस्ट एकता भएको सहन नसक्ने तथा ओली प्रधानमन्त्री भएको चित्त नबुझ्ने तत्व अहिले पार्टीभित्रको अन्तर कलहबाट हर्षित बनेको देखिन्छ । यो तत्व यो अन्तरबिरोधमा खेलिरहेको पनि छ । नेकपा नेतृत्वले जग हसाउँदै उनीहरुकै इशारामा नाचिरहनु उदेकलाग्दो बिषय बन्न पुगेको छ । एकातिर कोरोना भाइरसको संक्रमणले देश आतंकित बनेको छ, जनता त्रसित छ्न भने अर्कातिर बजेटको तयारीमा जुट्नुपर्ने अबस्थामा यी सबै बिषयमा गैरजिम्मेवार बन्दै सत्ताको छिनाझप्टीमा लाग्नुको अर्थ के हुन्छ ? यस्तो बेला जनमुखी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने र कोभिड–१९ का बिरुद्धमा लड्न एकमना एकता कायम गरेर जानुपर्ने हो । तर यस्तो खेल खेलिनुले अस्थिरता चाहनेहरुलाई फाइदा पुगेको छ । गणतन्त्रमाथि नै प्रश्न उठ्ने बेला आइसकेको छ ।
प्रधानमन्त्री ओलीले आफ्ना कमीकमजोरी हटाउँदै अब सबै मिलेर पार्टीले भने अनुसार काम गर्छु भनेर आत्मालोचना गरिसकेपछि फेरि एकपछि अर्को बखेडा झिक्नुको अर्थ र मनसाय के हुन सक्छ ? कोरोना संक्रमणविरुद्ध लड्न र सरकारलाई सफल पार्न न त पार्टी नेताको सुझाव सहयोग नै देखिन्छ बरु सरकारलाई असफल पार्न कहिले भैंसेपाटी त कहिले खुमलटार त कहिले कोटेश्वर मोर्चाबन्दी हुन्छ । तर कोरोनाबाट देश र जनतालाई जोगाउन, जनमुखी बजेट ल्याउन एबम् सरकार लोकप्रिय बनाउन ती नेताले आवश्यक ठान्दैनन् । आखिर अहिलेको नेकपाभित्रको यो तमासा केका लागि हो ? पार्टी हितका लागि, जनताका लागि वा देशका लागि वा प्रभुका लागि ? यो अनुत्तरित प्रश्नको जवाफ इतिहासले दिनेछ । समय आएपछि जनताले दिने नै छन् ।
कम्युनिस्ट पार्टीमा बहस, छलफल र बिवाद हुनु स्वभाविक हो तर यो सिद्धान्त, विचारको जगमा हुनु अनिवार्य छ । अहिले नेकपामा देखिएको बिवाद न कुनै सिद्धान्तको जगमा नै छ न त बिचारमा । छ त केवल निहीत स्वार्थको धरातल र जगमा । अहिले एकथरीलाई लागेको छ ओलीलाई ढलाउने उपयुक्त बेला यही हो, कतिपयलाई लागेको छ पार्टी फुटाउने उत्तम अवसर यही हो ।
कतिपय नेताले मन्त्री मुख्यमन्त्री बन्न नपाएको कुण्ठा ओकलिरहेको बुझ्न गाह्रो छैन । कतिपय नेता मन्त्रीबाट हटाइएकोमा आगो भएको देखिन्छ । कतिपय नेतालाई आफ्ना पकेटका ब्यक्तिले नियुक्ति नपाएको र निकटका एजेन्टले ठेक्का नपाएको झोंक छ । यिनै र यस्तै चिन्तन तथा गलत प्रवृत्ति हावी हुँदा निहीत स्वार्थ अन्तरसंघर्षको आवरणमा बिवाद सतहमा छताछुल्ल भएर पोखिएको छ । केही लोभ, केही पूर्वाग्रह, केही आलोचना देखाउने प्रवृत्तिसँगै बार्गेनिङको औजार र स्वार्थसिद्ध गर्ने अस्त्र बनाउन मूल नेतृत्वको तेजोबध गर्ने संस्कार पनि पार्टीभित्र छँदैछ । तथापि यी सबै कुरा पानीको फोका साबित हुनेछन किनकि यो आन्दोलन र पार्टी यी नेताले मात्र बनाएका होइनन् ,यो पार्टी निर्माणमा सयौ नेता कार्यकर्ताले रगत पसिना बगाएका छन् । धेरै बाबुआमाको कोख रित्तिएको छ, बच्चाहरु टुहुरा बनेका छन् । धेरैको सिउँदो पुछिएको छ । सयौ क्रान्तिकारीको बलिदानबाट बनेको हो यो पार्टी । हजारौंले आफ्नो परिवार त्यागेर भोकभोकै, पटक–पटक मृत्युको मुखबाट बचेर बनाएको हो । जुन पार्टीसँग लाखौ कार्यकर्ता र जनतासँगै यो देशको भविष्य जोडिएको छ । जस्ले यो पार्टी बचाउने छन् । त्यसैले नेताहरु जतिसुकै जुरुक जुरुक गरे पनि पार्टी एकतको स्प्रीट र कार्यकर्ताको भावना बिपरीत जान सम्भव छैन । यदि कसैले त्यस्तो दुस्साहस गरे इतिहास र जनताले माफ गर्ने छैनन् ।
अहिले मूल नेतृत्व खासगरी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको तेजोबध गर्ने धुन्धुकारी खेल भइरहेको छ । नेतृत्वले कार्यकर्तालाई कस्तो सस्कार सिकाउँदैछ । नेतृत्वको तेजोबध गर्ने यो शैलीले पार्टी कसरी सुदृढ हुन्छ ? पार्टी एकता गर्दा सब ठिक, आफूले पद पाउँदा सब ठिकठाक, अरुमाथि अन्याय भएर आफूले पद पाउँदा पनि क्या बात । तर अहिले यो कस्तो मोर्चाबन्दी ? देश कोरोना विरुद्धको बन्दाबन्दीमा नेताहरु सरकार ढलाउने र बनाउने फोहरी खेलको मोर्चाबन्दी ? कस्तो दुर्भाग्य ! पार्टी एकता नभएको भए तत्कालीन एमालेको दशौ महाधिवेशन भइसकेको हुन्थ्यो । दशौ महाधिवेशनमा धेरै नेताको हैसियत देखिन्थ्यो । माओवादी केन्द्रको त कुरै छाडौं, पार्टी एकता हुँदा यिनै दुई अध्यक्षको आशीर्वाद र अंशबन्डाबाट तथा नेताहरुको कोटको खल्तीबाट फुत्तफुत्त निकालेर नेतृत्वमा पुग्दा सबै राम्रो भयो । अहिलेको नेतृत्व कहाँ र कसरी कार्यकर्ताबाट अनुमोदित भएर आएको हो ? प्रश्न यहाँनेर पनि छ । कुरा सहिसलामत हुँदा ठिक छ, तर विधि पद्धतिको कुरा आउँदा यो कुरा उठ्छ कि उठ्दैन ? हेक्का राख्ने बिषय हो यो । सचिवालयको कुरा छाडिदिउँ भने पनि स्थायी समिति र केन्द्रीय समितिका सदस्य नेताहरु कुन विधि र पद्धतिबाट आउनु भएको हो ? अब बहसको बिषय बनाउने कि नबनाउने ? के विधि र पद्धति आफू छिर्दामात्र लागू नहुने हो । अर्थात् आफू छिर्दा विधि प्रक्रिया नचाहिने ?
यसैले अब सचिवालयको संख्या आवश्यक छ भने दैनिक कार्य संचालनका लागि थपौ । नेताको लाइक डिस्लाइकका आधारमा, नेताको फेरो समाएर बनाइएको, कार्यकर्ताबाट अनुमोदित नभएका यी स्थायी र केन्द्रीय नामका समिति भङ्ग गरौं । यसमा पनि जुँगाको लडाइँ हुन्छ भने पार्टी महाधिवेशनको मिति तय गरी आयोजक समितिमा रुपान्तरण गरौं । अन्तमा, पार्टी एकताको मर्म भावना तथा जनमतको कदर गर्दै सहमति र सहकार्यका साथ नेतृत्व अघि बढ्नुको बिकल्प छैन । नेकपा र यो सरकारमा ओलीको बिकल्प ओली नै हो । यो अहिलेको आवश्यकता र जनमत हो ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend