Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  रोजगारीमा गएका ४ लाखभन्दा बढी स्वदेश फर्किन आतुर


    बिहिबार, बैशाख २५ २०७७
    760
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २५ बैशाख । बैदेशिक रोजगारीमा खाडी मुलुक गएका ४ लाख भन्दा बढी नेपाली स्वदेश फर्किन चाहिरहेका छन् । बैदेशिक रोजगारीमा गएका ४ लाख नेपाली स्वदेश फर्किन चाहेको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बुधबार प्र्रतिनिधिसभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा दिएका हुन् । मन्त्री यादवले भने, वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेका छन् । 

     मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन् । तीमध्ये एक लाख १२ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ ।

    मन्त्रालयका अनुसार मलेसियाबाट सात हजार, कतारबाट ५० हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १२ हजार, कुवेतबाट नौ हजार, बहराइनबाट तीन हजार र ओमानबाट पाँच सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने छ ।
    कार्यक्रममा समितिका सदस्य डा बिन्दा पाण्डेले प्राथमिकता चयन गरेर खान नपाएका र भोकै रहेका श्रमिकलाई तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराएकी थिइन् । तत्काल ल्याउनुपर्ने श्रमिक कति छन्, त्यसको पहिचान गरेर स्वदेश ल्याउन ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।

    मन्त्रालयका अनुसार भिसाको म्याद सकिएका, यसअघि अवैध रूपमा बसेका र अहिले आममाफी पाएका तथा कोरोनाका कारण रोजगारी गुमाएका नेपाली तत्काल स्वदेश फर्किन चाहेका छन् ।

    सरकारले विदेशबाट फर्किन चाहने नेपालीका लागि उद्धार संयन्त्र बनाएको छ । यसमा स्वदेश फिर्ता व्यवस्थापन समिति बनाउने र त्यसबाट उद्धारका लागि काम गर्ने तयारी गरेको छ । श्रम, परराष्ट्र, गृह, पर्यटन, स्वास्थ्य, संघीय मामिला तथा अन्य विभागको सहभागितामा यस्तो समिति बन्नेछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार