काठमाडौं , २४ बैशाख । बुधबार एकैपटक ६ जना ब्यक्तिले कोरोनालाई जितेर घर फर्कने भएका छन् । प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना कोरोना संक्रमीत निको भएर घर जाने भएका छन् । उनीहरु आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर ठिक भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका हुन्।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनीहरु विराटनगरको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचाररत थिए।
उनीहरुको पिसिआर परीक्षणमा दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि बुधबार अस्पतालबाट विदाई गरिएको हो। डिस्चार्ज भएकाहरु विराटनगरको रानीस्थित क्वारेन्टाइनमा पुनः १४ दिन बस्नेछन्। त्यहाँ १० शैयाको क्वारेनटाइन तयार छ।
कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २१, २६, २८, २९, ३० र ३४ वर्षीय पुरुष छन् ।