काठमाडौं, २४ बैशाख । सनसिटी अपार्टमेन्टमा एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको केही दिनसम्म काठमाडौंमा संक्रमित देखिएका थिएनन् । तर मंगलबार पुनः सनसिटीकै पहिला कोरोना संक्रमित भएर ठीक भई फर्किएका ५७ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
काठमाडौंमा कोरोना संक्रमण नदेखिएपछि लकडाउन खुकुलो बनाउने तयारी गरिएको थियो । तर काठमाडौं सुरक्षित भएको देखिएपछि बाहिरबाट आउनेहरु बढ्न थाले । पुनः काठमाडौंमा ठीक भइसकेका ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्रास छाएको छ । ती ठीक भएका पुरुष कहाँ कहाँ गए, सनसिटीकी ५ सय परिवारका १५ सय जनासँग उनको सम्पर्क भएको थियो कि भन्ने त्रास ब्याप्त छ । सनसिटीमा बस्नेहरुको एकपटक पुनः परीक्षण गर्नुपर्ने भएको छ । यसअघि पनि सनसिटीमा बस्ने सबैको आरडीटी टेष्ट गरिएको थियो ।
सनसिटी अपार्टमेन्टमा बस्ने ती पुरुषसहित उनकी श्रीमती र आमा ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका हुन् । ८१ बर्षकी आमालाई समेत कोरोना ठीक भएको थियो ।
त्यसैगरी नारायणी अस्पतालबाट डिस्चार्ज भएका दुई जना पुरुषमा पनि पुनः कोरोना पोजेटिभ देखिएको छ । रौतहटका २१ वर्षीय पुरुष र अर्का एक भारतीय नागरिकमा संक्रमण देखिएको हो । कोरोना संक्रमण ठीक भएकालाई पुनः देखिएपछि थप चिन्ता बढाएको छ ।