Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीमा डीएसपी सरुवाको चलखेल, शक्तिकेन्द्र धाउँदै आकांक्षीहरु 


    मंगलबार, बैशाख २३ २०७७
    1.1K
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, २३ बैशाख । नेपाल प्रहरीमा डीएसपी सरुवाको चलखेल सुरु भएको छ । सबैभन्दा बढी चलखेल काठमाडौं उपत्यकाका बृत्तहरुका लागि भइरहेको छ । ठिमी, सोह्रखुट्टे, कालिमाटी, महाराजगंज लगायतका बृत्तहरुमा सरुवा हुनका लागि केही डीएसपीहरु शक्तिकेन्द्रमा धाएको धायै छन् । ठिमीका शान्तिराज कोइराला र सोह्रखुट्टेका सन्तोषसिंह राठौर एसपीमा बढुवा भएकाले ती बृत्तमा प्रमुख रिक्त छ । महाराजगंजका उमेश लम्साललाई पनि विवादमा ल्याइएकाले सरुवा हुने संभावना छ । उनी मातहतका प्रहरीले चिकित्सकलाई कुटपिट गरे पनि उनलाई विवादमा ल्याइएको थियो ।  

    काठमाडौंका बृत्तमा सरुवा हुनका लागि डिएसपीहरु रोशन खड्का, तिलक भारती, दानबहादुर थापा जस्ता विवादितहरु पनि दौडधूपमा लागेका छन् । डीएसपीहरु सन्तोष आचार्य, विश्व खड्का, कृष्ण चन्द, प्रतीक राठौर, गोविन्द काफ्ले, सुभाष खड्का, माधव बुढाथोकी पनि बृत्त ताक्दै शक्तिकेन्द्रमा दौडधूप गर्न तल्लीन छन् । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा दरबन्दी रहेका रोशन खड्का सोह्रखुट्टेमा सरुवा हुने ग्यारेन्टी भएको भन्दै हिंड्न थालेका छन् । गृहमन्त्रालयमा हरेक दिन धाउने र सहसचिवदेखि सचिवसम्मको कोठाचोटा चाहार्ने खड्काले गृहसचिव महेश्वर न्यौपानेलाई मिलाइसकेको भन्दै उनको बदनाम गर्दै आफ्नो सोह्रखुट्टे बृत्तमा सरुवा पक्का भएको हल्ला चलाउन थालिसकेका छन् । गृहसचिव न्यौपाने प्रहरीका सरुवा बढुवामा आफू मुछिन नचाहे पनि खड्का जस्ताले उनलाई समेत विवादमा ल्याउने प्रयास गरेका छन् । 

    तिलक भारती पनि आकर्षक बृत्त ताकिरहेका छन् । दरबारमार्ग बृत्तमा हुँदा २०७४ माघ ७ गते दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको बलात्कार काण्डमा उनी तानिएका थिए । डीएसपी भारती र इन्स्पेक्टर लक्ष्मण ठकुरीले बलात्कृत युवतीलाई ३० लाख रुपैयाँ पीडकहरुबाट मिलाएर केस सामसुम पार्ने प्रयास गरेपछि ठूलो हंगामा भएको थियो । र, भारती परिसर तानिएका थिए । भारती पूर्वसभामुख कृष्णबहादुर महराका अति नै निकट भएर प्रहरीमा सबैभन्दा बढी लाभ लिनेमा पर्दछन् । उनी डीएसपी भएपछि सोह्रखुट्टे, सातदोबाटो र दरबारमार्ग बृत्तको इन्चार्ज भइसकेपछि अहिले पुनः बृत्तमै सरुवा हुन सोर्सफोर्स लगाइरहेका छन् । उनलाई पुनः सोह्रखुट्टे  वा अर्को महत्वपूर्ण बृत्तमा सरुवा गराउनका लागि गुण्डानाइके राम गिरी लगानी नै गर्नेगरी दौडधूप गरिरहेका छन् । भारतीले गिरीमार्फत् मिटरब्याजमा पनि लगानी गरेका छन् । 

    लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा उनले भनेअनुसारका नक्कली उजुरी बनाई प्रहरी अधिकृतदेखि निजामती प्रशासनका धेरैलाई दुःख दिने मतियारमध्येका एक दानबहादुर थापाले पनि अहिले काठमाडौका बृत्त ताकेका छन् । उनी हाल हेडक्वाटरको विशेष ब्यूरोमा कार्यरत छन् । लोकमानको राजमा उनको दबाबमा थापा अघिल्लो दुई ब्याचकालाई समेत उछिनेर डीएसपी बढुवा भएका थिए । उनलाई बृत्तमा सरुवा गराउन एआइजी हरिबहादुर पाल नै सक्रिय छन् । उनले गृहसचिव न्यौपानेलाई भनसुन गरिरहेका छन् । पाल २ नम्बर प्रदेश प्रमुख भएको बेला थापाले उनलाई खुसी पारेका थिए । 

    बृत्त ताकिरहेका सन्तोष आचार्य इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट साढे तीन महिनामै गएको ०७६ भदौमा तानिएका हुन् । अर्का डीएसपी गोविन्द काफ्ले बानेश्वर बृत्तमा एक बर्षअघिसम्म पनि कार्यरत थिए । उनी पनि फेरि बृत्त नै सरुवा हुन धाइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार