काठमाडौं, २३ बैशाख । महानगरीय प्रहरी बृत्त गौशालामा आज(मंगलबार) बिहानै सिनामंगलको गैरीगाउँमा प्रेसरकुकर बम राखिएको सूचना पुग्यो । गैरीगाउँमा एक ब्यक्तिको घरअगाडि प्रेसरकुकर बम राखिएको हल्ला त्यस क्षेत्रमा ब्यापक चल्यो । बृत्तका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले खबर पाउनासाथ तुरुन्तै गए । प्रेसरकुकर राखिएको देखिएपछि बम नै पो राखिएको छ कि भनेर उनले सेनाको बम डिस्पोजल टोलीलाई पनि खबर गरे ।
सेनाको बम डिस्पोजल टोली आएर हेर्दा उक्त प्रेसरकुकरमा गिटी हालेर राखिएको फेलापरेको डीएसपी सिंहले बताए । कोरोना संक्रमणको महामारीमा लकडाउन पालना गराउन सडकमा खटिएको प्रहरीलाई अनावश्यक हैरानी दिने काम कसले गरेको हो भन्ने एकीन हुन सकेको छैन ।