Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादास्पद इन्स्पेक्टरलाई क्राइम ब्रान्चको जिम्मा


    सोमबार, बैशाख २२ २०७७
    1.3K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइमब्रान्च टोलीका प्रहरी निरीक्षक रविभूषण यादवले स्थानीय केही चर्चित तस्कर र व्यापारीहरूलाई फोन गर्दै आफ्नो सम्पर्कमा नआए नाकाबाट काम गर्न नदिने भन्ने गरेको पीडित व्यापारीहरूले उजागर गरेका छन् । 

    विवादास्पद छवि भएका इन्स्पेक्टर यादवले केही चर्चित ट्रान्सपोर्टका सञ्चालकहरूलाई समेत फोन गरेर आफू यहाँको घुमुवा इन्चार्ज भएको बताउँदै सम्पर्कमा रहन भनेको समेत खुलासा भएको छ । असई र सई हुँदा वीरगञ्जमा लामो समयसम्म पैसा उठाउने घुमुवाका रूपमा परिचालित बदनाम र विवादित व्यक्तिका रूपमा रविभूषण यादव चिनिन्छन् ।

    अर्जुनजंग शाही, वीरेन्द्रबाबु श्रेष्ठलगायतका एसपीहरू वीरगञ्जको प्रहरी प्रमुख हुँदा रविभूषण यादव र अर्का विवादास्पद जयनारायण यादव (हाल अवकाश भइसकेका) घुमुवाका रूपमा परिचालित थिए । उनीहरूले विभिन्न व्यापारीदेखि तस्करहरूसँग रकम उठाई तत्कालीन संघीय इकाइ प्रहरी कार्यालय (एसएसपी कार्यालय)को उत्तरपट्टि जोडिएको जग्गा खरिद गरी दुवैले घर बनाएका छन् । दुई दुई तले उनीहरूको घर असई र सई दर्जामा वीरगञ्जमा घुमुवा हुँदा तस्कर र व्यापारीहरूबाट रकम असुली जग्गा खरिद गरी बनाएको यहाँका पुराना धेरै प्रहरीहरूलाई थाहा त छ नै रकम दिने तस्कर र व्यापारीहरूसमेत अहिले पनि यहाँ चर्चा गर्छन् । रविभूषण यादव र जयनारायण यादवको आतंक नै थियो २०५७ सालतिर । रक्सौलका कपडा तस्करहरूले उनीहरूलाई जग्गा र घर बनाउनका लागि ठूलो लगानी नै गरिदिएको अहिले पनि यहाँका केही व्यापारीहरू बताउँछन् । 

    जिल्ला प्रहरी कार्यालय रामेछापबाट पर्सा सरुवा भएलगत्तै उनी क्राइमब्रान्च टोलीको प्रमुखका रूपमा परिचालित छन् । यो टोली भनेको विगत वर्षदेखि नै पैसा उठाउने टोलीका रूपमा वीरगञ्जमा परिचित छ । कहिले क्यूआरटीका नाममा परिचालित टोली होस् या कहिले टाइगर रुपका नाममा परिचालित ग्रुप होस् । नाम जे दिए पनि यी टोलीको काम भनेको यसभन्दा अघि रकम असुल्नु नै हो । यसअघिका एसपी सोमेन्द्रसिंह राठौरले सई विदुर शिवाकोटीलाई काठमाडौँबाट नै वीरगञ्ज ल्याई क्राइमब्रान्च टोलीको प्रमुख बनाई परिचालित गरेका थिए । धेरै विवादमा तानिएपछि २ नम्बर प्रदेशका डिआइजी प्रद्युम्न कार्कीले  शिवाकोटीलाई रमाना गराएका थिए । हालै सरुवा भएर पर्सा आएकी एसपी गंगा पन्तले अहिले सीमा क्षेत्रबाट हुने तस्करीलाई पूर्णरूपमा नियन्त्रण गरेकी छन् । 

    तस्करहरू यतिबेला तस्करी गर्न नपाएर छटपटीमा परेका छन् । एसपी पन्तले मातहतका युनिटका प्रमुखहरूलाई तस्करीको लाइन चलाएको र घुस खाएको सूचना मात्रै पाए पनि ठाउँका ठाउँ कारवाही गर्ने चेतावनी दिएपछि मातहतकाहरूले पनि खुलेर तस्करी गर्न पाएका छैनन् । तर, क्राइमब्रान्च टोलीका प्रमुख रविभूषण यादवले भने तस्कर र व्यापारीहरूलाई आफू वीरगञ्ज आइसकेको भन्दै धेरै व्यापारीहरूलाई तर्साउने र फोन सम्पर्क गर्ने गरेको यहाँ खुलासा भएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार