धादिङ, २२ वैशाख ।टेलिभिजन, क्यासेट प्लेयर र स्पिकर लगायतका चोरीका सामान सहित सिद्धलेक गाउँपालिका-५ पोखरीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिद्धलेक गाउँपालिका-५ पोखरी बस्नेहरु २२ वर्षीय अभिषेक श्रेष्ठ, १९ वर्षीय श्याम श्रेष्ठ र २५ वर्षीय अजय श्रेष्ठ रहेका छन् ।
उनीहरुबाट चोरीका एलईडी टिभी ६ थान, क्यासेट प्लेयर ३ थान, स्पिकर १ थान र चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बिहीबार प्रहरीले बरामद गरेको छ ।
निलकण्ठ नगरपालिका-३ स्थित कसाई टोलमा पार्किङ गरी राखेको बा. ४ ख ७३८० नम्बरको बस, सोही नगरपालिका-८ बिर्ताबेशीमा पार्किङ गरी राखेको ना.४ ख २८९१ नम्बरको बस‚ सोही नगरपालिका-३ पुच्छार बजारमा पार्किङ गरेको ना.६ ख ९१३० नम्बरको बस, सोही ठाउँमा पार्किङ गरी राखेको प्र.३-००५ ख ९५७२ नम्बरको बस र सोही नगरपालिका-३ स्थित जिल्ला अस्पताल अगाडि पार्किङ गरी राखेको लु.२ ख १९५४ नम्बरको बसबाट विभिन्न मितिमा टिभी तथा क्यासेट प्लेयर चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त सामान सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीमा संलग्नमध्येका १ जना हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ व्यक्तिहरु उपर चोरी मुद्दामा जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यालय धादिङले जनाएको छ ।