ताप्लेजुङ- ताप्लेजुङका अग्नि पीडितले जनही ५० र २५ हजार राहत पाउने भएका छन् । फुङ्लिङस्थित ट्याक्सी स्टेन छेउमा शुक्रबार राति भएको आगलागीका पीडितले उक्त राहत पाउने भएका हुन् ।
राहत बितरणका लागि राहत संकलन कार्य सुरु भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले आगलागीबाट घर पूर्ण क्षति भएका ८ घरधनीलाई जनही ५० हजार र आशिंक क्षति पुगेको १ घरका धनीलाई २५ हजार रुपैंयाका दरले राहत उपलब्ध गराउने भएको छ ।
यस्तै आगलागीमा परी डेराभाडामा बस्ने १६ परिवारलाई जनही १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । यस्तै ताप्लेजुङ बहुउद्देश्यीयसहकारी संस्थाले पीडित सबै परिवारलाई जनही ३ हजार रुपैयाँले र कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई जनही ३ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।
सावादिन फुङ्लिङ परिवार समाजले समाजका २ सदस्य क्रमशःखेम केसी र खड्ग थापालाई जनही २० हजार ३०० रुपैयाँका दरले राहत दिईएको समाजका दिलकुमार लिम्बूले जानकारी दिए ।
साई समाज बिराटनगरमार्फत चुल्हो नै डढेर खाना खानै समस्या परेका १७ परिवारलाई १–१ थान ग्याँस सिलिण्डर र ग्याँस चुल्हो प्रदान भएको छ । यसैबीच राहत सहयोग गर्नेहरुले अब फुङ्लिङ नगरपालिकाले निर्माण गरेको आगलागी पीडित राहत कोषमार्फत मात्र सहयोग गर्न पाउने भएका छन् ।