Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओम सर्जिकलले सामान बुझाएन, कालोसूचीमा राख्न विभागको आलटाल


    सोमबार, बैशाख २२ २०७७
    770
    Shares
  • ६ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख । स्वास्थ्य सेवा विभागले चैत २३ मा गरेको टेण्डरमा स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का पाएका ओम सर्जिकल र मेडि कन्सर्नले बुझाउँछु भनेको समयमा सामान बुझाएका छैनन् । दोस्रो पटक दिइएको समयसीमासम्म पनि ओम र मेडिकन्सर्नले सामान बुझाएका छैनन् । लुम्बिनी हेल्थकेयरले भने बुझाएको छ । तर ओम र मेडिकेयरले बुझाएका छैनन् । ओम र मेडिकन्सर्नलार्ई  सामान बुझाउन दोस्रो पटक आइतबारसम्म दिएको समयसीमा पनि सकिएको छ । उनीहरुले बैशाख १९ सम्म सामान बुझाउनेगरी ठेक्कासम्झौता गरेका थिए । दोस्रो पटकको समय बैशाख २१ सम्म विभागले दियो । तर बैशाख २१ सम्म पनि बुझाउन सकेनन् ।

    ओमले केही (पार्सियल) सामान बाहेक अरु सामान नदिएको ब्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले नेपालफेसलाई बताएका थिए । तर सम्झौता अनुसार दोस्रो पटक दिइएको समयसीमामा पनि सामान नबुझाएको ओम र मेडिकन्सर्नमाथि विभागले सार्वजनिक खरिद ऐन अनुसार कारबाही अगाडि बढाउनुपर्ने हुन्छ । तर विभागले ओम सर्जिकलका संचालक रामशरण भण्डारी शक्तिशाली भएकाले अहिलेसम्म कालोसूचीमा कारबाही अगाडि बढाउन सकेको छैन । हेम्स अस्पतालका समेत लगानीकर्ता भण्डारीले सरकारलाई बुझाउन ल्याएको सामान कालोबजारीमा बिक्री गरेको आरोप लागेको छ । 

    महामारीमा स्वास्थ्य सामग्रीको टेण्डर पाएको ओम सर्जिकलले त्यही ठेक्काको सामान भनेर चीनबाट जहाज चार्टर गरी ल्यायो । तर सरकारलाई दिन भनेर ल्याइएको स्वास्थ्य सामग्री ओमले कालोबजारीमा बिक्री गरेको बिषयमा बैशाख १३ मै नेपाल फेस डटकमले समाचार उजागर गरेको थियो । सरकारलाई बुझाउन स्वास्थ्य सामग्री ल्याउने भनेर ओम सर्जिकलले जहाजभरी ल्याएको सामान इटहरी, बुटवल, धनगढीमा समेत लगेर कालोबजारी गरेको छ । २ सय ७० मा पाइने एन ९५ मास्क ३८० रुपैयाँमा थोकमा बिक्री गरी ब्रम्हलुट गरेको आरोप छ । उसले सर्जिकल मास्क इटहरीमा लगेर दोब्बर मूल्यमा भारतमा समेत लाखौं पिस बिक्री गरेको आरोप ओम सर्जिकलमाथि लागेको छ । 

    पीपीई, थर्मल गन, एन ९५ मास्क, ग्लोब, आरडीटी किट लगायतका वास्थ्य सामग्री आपूर्तिको ठेक्का पाएका ओम सर्जिकल र मेडिकन्सर्नले अन्तिम मितिसम्म सामान नबुझाउँदा पनि विभागले कारबाही गर्नसकेको छैन । ओम्नीले सम्झौता अनुसार पहिलो लटमा १० प्रतिशत सामान बुझाउँदा पनि उसलाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो । जबकि ओम र मेडिकन्सर्नले अन्तिम मितिसम्म पनि बुझाएनन् । त्यसपछि थप दिएको मितिसम्म नबुझाउँदा पनि उनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया नै अगाडि बढाइएको छैन । ओम र मेडिकन्सर्नको धरौटी जफत गरी कालोसूचीमा राख्न विभागले सिफारिस गर्न बिलम्ब गरेकाले मिलेमतोको आशंका गरिएको छ ।

    स्वास्थ्य सेवा विभागबाट टेण्डर पाएका ओम सर्जिकलका रामशरण भण्डारी र मेडिकन्सर्नका शम्भु कार्कीले ३ पटक चीनबाट सामान ल्याए पनि त्यो सबै सामान बजारमा कालोबजारीमा बिक्री गरेको आरोप छ । उनीहरुले सरकारलाई बुझाउन सामान आयात गर्ने छुटको दुरुपयोग गर्दै ल्याएर ३ हजारदेखि ३ हजार ५ सयमा पाइने थर्मल गनको ८ हजार ५ सयदेखि ९ हजार रुपैयाँमा बिक्री गर्दैआएका छन् । २ सय ७० रुपैयाँको एन ९५ मास्कको ३ सय ७० रुपैयाँ लिएर बजारमा थोकमा बिक्री गरेका छन् । यसरी विभागको टेण्डरको सामान भन्दै ल्याउने र बजारमा महंगो मूल्यमा बिक्री गर्ने देशद्रोही काम ओम र मेडिकन्सर्नले गर्दैआएका छन् । तर स्वास्थ्य सेवा विभागलाई भने केही सामान मात्र दिएर भुलाइरहेका छन् । ओम्नीले कबोल गरेको सामान दिंदा महंगो भएको भनी आलोचना भएपछि कालोसूचीमा राख्ने विभागले ओम र मेडिकन्सर्नलाई भने केही कारबाही गरेको छैन । विभागलाई नबुझाई स्वास्थ्य सामग्री बजारमा बढी मूल्यमा बिक्री गरिरहेको सूचना पाए पनि कारबाही नहुनुले मिलेमतोको आशंका गरिएको छ । 
     स्वास्थ्य सेवा विभागको ब्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलसँग ठेक्का पाएका सप्लायर्सले सामान बुझाउन दिएको दोस्रो पटकको म्यादभित्र पनि नदिएकोबारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि सम्पर्कमा आएनन् ।  

    ओम सर्जिकल र मेडिकन्सर्नले स्वास्थ्य सेवा विभागलाई बुझाउन ल्याएका स्वास्थ्य सामग्री कालोबजारीमा धमाधम बिक्री भइरहेको सूचना पाएर पनि नियमन गर्ने उपभोक्ता हित संरक्षण विभागले पनि सर्जिकलहरुको अनुगमन गरेको छैन । खाना पकाउने ग्याँसमा १ सय रुपैयाँ बढी लिंदा २ लाख जरिवाना गराउने विभागले ३ हजारको थर्मल गनलाई ९ हजार रुपैयाँ लिंदा पनि अनुगमन गर्न सकेको छैन । 

    केमसानमा पनि विवाद

     स्वास्थ्य सेवा विभागले गएको चैत २३ मा स्वास्थ्य सामग्रीका लागि टेण्डर गरेको थियो । त्यसमा रसायन तथा मेडिकल आपूर्ति सघं नेपाल(केमसान)मा आवद्ध ३९ मध्ये ३६ ब्यवसायीका कम्पनीको तर्फबाट ओम, लुम्बिनी र मेडिकन्सर्नले ठेक्का पाएका थिए । लुम्बिनीले सामान बुझाइसकेको छ । ओम सर्जिकल र मेडिकन्सर्नले बुझाएका छैनन् । केमसानका सदस्यहरुले ओम सर्जिकलले कसैलाई बढी र कसैलाई कम मूल्यमा सामान दिएको भनी बैठकमै कुरा उठाएका थिए । बैशाख १४ गते बुद्धनगरको हमाल कम्लेक्समा बसेको बैठकमा पनि केमसानका सदस्यहरुले बिरोध गरेका थिए । उक्त बैठक १४ गते बसे पनि प्रेस बिज्ञप्तिको मिति भने १५ गते राखिएको थियो । १७ गते पुनः बसेको केमसानको बैठकमा पनि चीनबाट ल्याएको स्वास्थ्य सामग्री केमसानका सदस्यहरुलाई बितरण गर्दा दुईथरी मूल्य लिइएकोमा बिरोध भएको थियो । ओम, लुम्बिनी र मेडिकन्सर्नको अपारदर्शीताका कारण केमसान नै फुट्ने अवस्थामा पुगेको छ । 

    यो पनि पढ्नुहोस्ः

    स्वास्थ्य सामग्री कालोबजारीमा ओम सर्जिकल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार