चितवन, २२ बैशाख । कोरोना संक्रमित चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन्। उनीसँगै संक्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन्।
वैशाख ३ गते गरिएको र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शंकास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो।
त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो। उनीहरू चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए।
उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।