Nepal Face
  • आइतबार, ७ मंसिर २०८३
  • स्वास्थ्य सम्मेलनमा मन्त्रीदेखि अतिथिकै अपमान, ६ प्रदेशका मन्त्रीलाई बोलाइएन ?


    आइतबार, मंसिर ७ २०८३
    3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको नेतृत्व र स्वास्थ्य प्रबद्र्धन तथा शिक्षा संघ नेपालको आयोजनामा प्रथम राष्ट्रिय स्वास्थ्य प्रवद्र्धन सम्मेलन–२०२६ (हेल्थ कन्फ्रेन्स) सोचेजस्तो परिणाममुखी हुन नसकेको खुलासा भएको छ ।

    शुक्रबारदेखि शनिबारसम्म आयोजना गरेको २ दिने उक्त सम्मेलन आयोजककै कारण हल्लाखल्ला गरिएकोजस्तो सफल हुन नसकेको सहभागीहरुले नै महसुस गरेका छन् । जनस्वास्थ्य सुधार, रोग रोकथाम, स्वास्थ्य साक्षरता र नीति निर्माणका विषयमा छलफल तथा अनुसन्धान आदानप्रदान गर्न राष्ट्रियस्तरमा गरिएको पहिलो सम्मेलनमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई प्रमुख अतिथि बनाइएको थियो । तर कार्यक्रम यति अब्यवस्थित थियो कि उदघाटन गर्न मञ्चमा आसिन प्रमुख अतिथि मन्त्री मेहताको अगाडि राखिएको गमलाबाट पानी चुहिएको दृश्यले सहभागीहरुलाई नै लज्जित पारेको थियो । र, मन्त्री मेहताको अपमान गरिएको आभास सबै सहभागीलाई गराएको थियो ।

    कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोषकुमारी शर्मा थापामात्र निम्त्याइएकी थिइन् । अरु ६ वटा प्रदेशका स्वास्थ्य मन्त्रीलाई कार्यक्रममा सहभागी थिएनन् । ५० औं लाख खर्च गरी आयोजना गरिएको सम्मेलनमा एउटामात्र प्रदेशका मन्त्रीलाई बोलाई कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम आयोजना गरिएको बागमती प्रदेशका स्वास्थ्य मन्त्रीलाई समेत नबोलाइएकाले उक्त कन्फ्रेन्स कतिसम्म हचुवा ढंगले आयोजना गरिएको थियो भन्ने त सबै सहभागीले महसुस गरेका थिए ।

    राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र स्वास्थ्य प्रबद्र्धन तथा शिक्षा संघ नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्री मेहतालाई पानी चुहिने गमला राखेर उदघाटन गराएर मात्र अपमान गरिएन कि मञ्चमा बरिष्ठ ब्यक्तिहरुलाई आसिन नगराई कनिष्टहरुलाई राखी थप अपमान गर्ने कामसमेत भएको महसुस सबैले गरेका थिए ।

    सुदूरपश्चिम प्रदेशका मन्त्रीलाई कार्यक्रममा त बोलाइयो तर मञ्चमा नराखी स्वास्थ्य प्रबद्र्धन तथा शिक्षा संघका अध्यक्ष हेमराज खड्काले अपमानित गर्ने कामसमेत गरेका थिए ।

    राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रकी निर्देशक राधिका थपलियाले स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य मन्त्रालयका बिशिष्ट श्रेणीका कर्मचारीलाई समेत मञ्चमा नबोलाई अपमान गर्ने काम गरेको टिकाटिप्पणी सहभागीहरुबीचमै भएको थियो । मन्त्री मेहताले बिहान ११ बजे मन्त्रिपरिषद बैठक राखिएको छ, अगाडि सम्बोधन गर्ने ब्यवस्था गर्न आग्रह गर्दा पनि केन्द्रकी निर्देशक थपलिया र कार्यक्रम संचालक शारदा पहाडीले सुनेको नसुन्यै गरी थप अपमानित गरेका थिए ।

    मन्त्रीले मन्त्रिपरिषदको बैठक छ भन्दा पनि नसुनी बोल्न नदिंदा कन्फ्रेन्सको अध्यक्षता गरिरहेका स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्तक्षेप गरी ब्यवस्थापन गर्नुपर्नेमा उनी मुकदर्शक बनेका थिए । कार्यक्रममा बिज्ञहरुलाई आफ्नो प्रस्तुतीकरणका लागि बोलाउँदासमेत ब्यवस्थापन चुस्त नदेखिएको महसुस सहभागीहरुले गरेका थिए ।

    कार्यक्रम महत्वपूर्ण भए पनि ब्यवस्थापन चुस्तदुरुस्त नहुँदा सहभागीहरुले खल्लो महसुस गरी फर्किएका थिए । स्वास्थ्य मन्त्रालय अन्तर्गत संचालन भएको कन्फ्रेन्समा निर्देशक थपलियाले स्वास्थ्य मन्त्री मेहताका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानलाई जानकारी नै नदिएको स्रोतको भनाइ छ । आफूले भनेजस्तो गर्न नपाउने भएपछि प्रमुख सल्लाहकारलाई जानकारी नै नदिइएको आशंका पनि गरिएको छ ।

    नेपालमा नसर्ने रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट प्राप्त सहयोगबाट लाखौं खर्च गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा अनावश्यक र असम्बन्धित ब्यक्तिहरुलाई विज्ञको बहानामा उपस्थित कार्यक्रम गरिएको केन्द्रकै एक पूर्व कर्मचारीले बताए ।

    सम्मेलनमा करिब ३ सय जना सहभागी थिए । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धी हुने भन्दा पनि आफ्ना मानिसलाई आर्थिक लाभ पुर्याउनका लागि मात्र यो कार्यक्रम आयोजना गरिएकोजस्तो महसुस सहभागीले गर्न बाध्य भएका थिए । उदघाटनमा स्वास्थ्य मन्त्रीको अगाडि एउटा गमलासमेत राम्रो ब्यवस्था गर्न नसक्नुले कार्यक्रम कति भद्रगोल र तयारीबिना गरिएको थियो भन्ने कुरालाई पुष्टि गरेको छ ।

    त्यसो त राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रमा प्राप्त हुने सहयोगबाट सम्पन्न गरिने कार्यक्रमहरु पनि विनाप्रतिस्पर्धा अपारदर्शी रुपमा दिने गरिएको आरोप लाग्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार