Nepal Face
  • बिहिबार, ४ मंसिर २०८३
  • परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता


    बिहिबार, मंसिर ४ २०८३
    90
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसँग आग्रह गरेका हुन्।

    भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको स्मरण गराएका छन्। यस्तो अवस्थामा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेकोमा जोड दिए।

    ‘तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो,’ खनालले भने, ‘त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ।’

    भेटका क्रममा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिएका छन्।

    भेटवार्ताका क्रममा दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध तथा बहुपक्षीयतासहित आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार