ललितपुर, २१ बैशाख । ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारबाट २० शैयाको क्वारेन्टाइन शुरु गरेको छ । कम्प्लेक्सभित्र रहेका खेलाडीहरुको होस्टेलमा क्वारेन्टाइन संचालन गरिएको हो । उक्त होस्टेलमा अहिले खेलाडी बस्दैनन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई, महर्जनले ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुषाललाई, भुषालले नेपाली सेनाका महासेनानी उत्तम सापकोटालाई साँचो हस्तान्तरण गरेपछि क्वारेन्टाइनको औपचारिक रुपमा सुरुवात भएको हो ।
यो क्वारेन्टाइनमा पाटन अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका बिरामीका आफन्तहरुलाई राखिने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । कोरोना नियन्त्रण र रोकथामका लागि महानगरपालिकाले गरेको महत्वपूर्ण कामहरु मध्ये क्वारेन्टाइन संचालन एक भएको महर्जनले स्पष्ट पारे । ‘हामी तयारी अवस्थामा बसेका हौं , कोरोना पोजेटिभलाई राख्न तयारी गरेका हौं,प्रमुख महर्जनले भने,‘ तर,त्यस्तो अवस्था नआओस् , यहाँ एक जना पनि बिरामी राख्न नपरोस् । ’ उनले ज्यापु समाजको बृद्धाश्रममा समेत क्वारेन्टाइन राखिने जानकारी दिए ।
प्रमुख महर्जनले बागमती प्रदेशमा संचालित ४हजार भन्दा धेरै जना अट्ने क्वारेन्टाइनमा ७ सय पचास मात्रै बिरामी रहेको बताउँदै आवश्यकता पहिचान भएपछि मात्रै महानगरले क्वारेन्टिन संचालन तर्फ ध्यान केन्द्रित गरेको स्पष्ट पारे ।
महानगरको सामाजिक विकास समितिका संयोजक दिनेश कार्र्कीले ज्यापु समाजको बृद्धाश्रममा समेत क्वारेन्टिन राखिने बताए । भर्खरै निर्माण सकिएको तर बृद्धबृद्धा नरहेको उक्त भवनमा विभिन्न जिल्लाबाट महानगरपालिका भित्रिएकालाई राखिने कार्कीले जानकारी दिए । उनले भने, ‘संक्रमण फैलिएका जिल्ला र अन्यत्रबाट आएकाहरु समुदायमा बस्दा त्रास उत्पन्न हुनसक्छ, सावधानी अपनाएर यस्तो व्यवस्था गरेका हौं ।’ क्वारेन्टाइनमा बस्दा आफू पनि सुरक्षित हुने र समुदायलाई पनि सुरक्षित महसुस गराउन सकिने बताउँदै महानगरभित्रिएकालाई उक्त क्वारेन्टाइनमा बस्न अनुरोध गरे ।
महानगरपालिका अनुसार एन्फा कम्प्लेक्सको खेलाडी होस्टलमा संचाल गरिएको क्वारेन्टाइनको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्नेछ । महानगर विपद् व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइन संचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सरकारले जारी गरेको कोरोना भाइरस (कोभिड —१९) सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सदस्य सचिव सहित सात सदस्यीय समितिले अध्ययन प्रतिवेदन दिएपछि क्वारेन्टि संचालन गर्नुपर्नेछ । सहायक प्रमुख जिल्ला अधिकारीले अध्ययन प्रतिवेदन दिएपछि क्वारेन्टाइन स्थल र त्यससँग सम्बन्धित विषयमा निर्णय गरिएको थियो ।
कार्यक्रममा एन्फाका उपाध्यक्ष शिक्षित पराजुली र महासचिव इन्द्रमान तुलाधारको समेत उपस्थिति थियो ।