Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • ठेक्का ह्याकिङमा पक्राउ परेका मल्लसहितका ठेकेदारलाई आजै छुटाउन उच्चतहको चलखेल


    मंगलबार, असोज २० २०८३
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह सुशासनका पक्षमा कटिबद्ध देखिन्छन् । उनी आफ्ना सल्लाहकारदेखि आफन्तैले गल्ती गरे पनि छाड्ने पक्षमा छैनन् । तर, सुशासनकै उपहास हुनेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रणालीमा अनधिकृत पहुँच पुर्याउने र ह्याकिङ गरी बोलपत्र ठेक्का कब्जा गरेको आरोपमा पक्राउ परेका ८ व्यवसायीको पुनः म्यादथप नगर्न चलखेल भइरहेको छ ।

    शुक्रबार पक्राउ परेका हाई हिमालयन कन्ष्ट्रक्सन प्रा.लि.का अध्यक्ष किरण मल्लसहित ८ निर्माण ब्यवसायी(ठेकेदार)लाई सोमबार ४ दिन म्यादथप भएको थियो । अनुसन्धानका लागि साइबर ब्यूरोले मंगलबार पुनः म्यादथपका लागि लानुपर्ने हुन्छ । तर म्यादथप नगरी मंगलबारै उनीहरुलाई छाड्ने चलखेल भइरहेको छ । उनीहरु आजै छुट्ने संभावना रहेको स्रोत बताउँछ ।

    एक सुरक्षा निकायका उच्चपदस्थ अधिकारीका नातेदार ठेकेदार पनि पक्राउ परेकाले आज म्यादथप हुने संभावना कम भएको स्रोतको दाबी छ । हाई हिमालयन कन्ष्ट्रक्सन प्रा.लि.का अध्यक्ष किरण मल्ल सेनाका उच्चपदस्थ अधिकारीका आफन्त भएकाले पनि म्यादथप नगरी आजै छाड्न चर्को दबाब परेको स्रोतको भनाइ छ ।

    मल्ल ती उच्चपदस्थ अधिकारीको नातेदार हुन् भन्ने थाहा पाएको भए संभवतः ठेक्का ह्याकिङमा उनी पक्राउ पर्ने संभावना हुँदैनथ्यो, तर साइबर ब्यूरोले उनी शक्तिशालीका नातेदार हुन् भन्ने थाहा नपाउँदा उनीसहित ८ जना ब्यवसायी पक्राउ परे ।

    स्रोतका अनुसार पक्राउ पर्नासाथ प्रहरीका उच्च अधिकारीलाई चर्को दबाब आयो । दबाबका बाबजुद ४ दिन म्यादथप त भयो, तर मंगलबार म्यादथप हुने संभावना क्षीण रहेको छ । ब्यापक चलखेल भइरहेको छ ।

    सेनाका उच्चपदस्थको दबाबमा किरण मल्ल छुट्ने भएपछि उनीसँगै साइबर ब्यूरोले ठेक्का ह्याकिङमा पक्राउ गरेका भक्तबहादुर लामा, विष्णुमान लामा, गंगाबहादुर सिलवाल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्की पनि छुट्ने भएका छन् । मल्लको म्यादथप नहुने बित्तिकै एउटै कसूरमा पक्राउ परेका अन्य ७ निर्माण ब्यवसायीको पनि नहुने संभावना छ ।

    मल्ल जलबिद्युतदेखि कन्ष्ट्रक्सन कम्पनीका समेत संचालक हुन् । उनी नेपालका लागि आर्मेनियाका महाबाणिज्यदूतसमेत हुन् ।

    यसअघि ईबिडिङ ह्याकिङ गरी ठेक्का कब्जा गर्ने कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे र आशिष निर्माण सेवाका ऋषिकेश गौली यसअघि नै प्रक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

    ई–बिडिङ ह्याक प्रकरणमा प्रहरीले दोस्रो तहको अनुसन्धान गरेर त्यसमा संलग्न देखिएका व्यवसायीलाई पक्राउ गरेको जनाएको थियो । तर दोस्रो तहको अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई पनि म्यादथप गर्न नदिई छोड्न दबाब परेपछि ईबिडिङ ह्याकिङ प्रकरणको छानबिन टुंगोमा नपुग्ने आशंका बढेको छ ।

    अभौतिक मुद्रा(क्रिप्टोकरेन्सी) मार्फत् कारोबार गरी ह्याकरको प्रयोग गरेर बिद्युतीय बोलपत्र प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका दर नै हेरफेर गरी ठेक्का हत्याउने कालिका कन्ष्ट्रक्सनका संचालक बिक्रम पाण्डे र आशिष निर्माण सेवाका संचालक ऋषिकेश गौलीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । सीआईबीले ३ सय १३ वटा बोलपत्र ह्याकिङ भएको भनिरहेको अवस्थामा मुस्किलले २५ वटा ठेक्काको मात्र छानबिन गरेको छ । दोस्रो चरणमा ८ वटा कन्ष्ट्रक्सन कम्पनीका संचालकलाई पक्राउ गरी अनुसन्धान गर्न खोज्दा उच्चतहको दबाबमा रोकिएपछि ठेक्का ह्याकिङ प्रकरण फासफुस हुने भएको छ ।

    सीआईबीले यसअघि बोलपत्र ह्याकिङमा ठूलो रकमबराबरको अभौतिक मुद्रा(बिटक्वाइन) प्रयोग भएको उल्लेख गरे पनि ठूला ठेकेदारलाई त्यो अभियोग नलगाई उन्मुक्ति दिएको आरोप लागेको थियो ।

    ह्याकरसँग सम्बन्ध बनाइदिने ९८२८८६१५५६ नम्बर प्रयोग गर्ने व्यक्ति को हुन भनेर समेत पत्ता लगाउन नसकेको आरोप सीआईबीमाथि लागेको थियो । ठेक्का ह्याकिङमा क्रिप्टो कारोबारमा संलग्न अमेरिका निवासी पारसरत्न तुलाधरको विस्तृत विवरण नखुलेको भन्दै उनलाई मुद्दाबाट जोगाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार