Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • रेशम चौधरीको माफी मिनाहाविरुद्धको रिट सर्वोच्चद्वारा खारेज


    मंगलबार, असोज ६ २०८३
    65
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने सरकारी निर्णयविरुद्धको रिट खारेज भएको छ।

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको हो। उनलाई आमामाफी दिने राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज भएको सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा उल्लेख छ।

    २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलन हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगीको मृत्यु भएको थियो।

    घटनामा मुख्य दोषी ठहर गर्दै रेशमसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो। उनीहरूलाई दिपायल उच्च अदालतले पनि जन्मकैदको सजाय सुनाएको थियो।

    त्यसैगरी २०८० जेठ २ गते सर्वोच्च अदालतले पनि चौधरीलाई सफाइ दिन अस्वीकार गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको थियो। दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि २०८० जेठ १५ गते कारागारबाट रिहा भएका थिए।

    जेठ १६ गते नै सर्वोच्च अदालतमा टीकापुर घटनामा श्रीमान गुमाएकी शारदा कडायतले चौधरी र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। उनले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका चौधरीलाई रिहा गर्न संविधानसम्मत नभएको जिकिर गरेकी थिइन्।

    त्यसमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले रिट खारेज गर्ने फैसला गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार