Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • ‘संविधान अक्षरहरूको संगालो मात्रै होइन, राज्य र नागरिकबीचको पवित्र करार हो’: रवि लामिछाने


    शनिबार, असोज ३ २०८३
    0
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्।

    संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।

    नेपालको सन्दर्भमा संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको भनाइ छ। लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता त्यसले सुनिश्चित गरेका मौलिक अधिकार नागरिकको दैनिक जीवनमा रूपान्तरण भएपछि मात्रै सिद्ध हुने उनले उल्लेख गरेका छन्।

    ‘संविधान एक जीवन्त दस्तावेज हो। यसका अन्तर्वस्तु राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिष्कृत हुन सक्छन्, संशोधन हुन सक्छन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘तर अबको समीक्षा विधिमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।’

    लामिछानेले संविधानका उपलब्धि र कमजोरीको समीक्षा गर्दै लोकतन्त्र तथा समावेशितालाई थप बलियो बनाउने विषयमा विवेकपूर्ण बहस गर्न संविधान दिवस उपयुक्त अवसर भएको बताएका छन्।

    ‘बलियो राज्य भनेको बलिया संस्था हुन्,’ उनले भनेका छन्, ‘संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अङ्ग र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार