काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै भारतमा अलपत्र रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न नमिल्ने बताएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भनेर प्रश्न गर्दा उनले सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको जवाफ दिए ।
भारतको चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् । अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरेका थिए । प्रम ओलीले १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताए ।
नेपालभारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।
अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने क्याबिनेटको निश्कर्ष रहेको स्रोतले बतायो ।