काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स एशोसिएसन नेपाल र एसोसिएसन अफ इन्टरनेसनल सोसल वर्कर्सको संयुक्त आयोजनामा तथा तोसिबा इन्टरनेसनल फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको हो ।
कार्यशालाको सुरुवात जेन–जी पुस्ताका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा स्मरणगर्दै गरिएको थियो । देश र समाजका लागि आफ्नो आवाज उठाउने क्रममा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै सहभागीहरूले मौनधारणसमेत गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा मानव संशाधन विकास, आर्थिक आत्मनिर्भरता, महिला सशक्तीकरण, महिला नेतृत्व, सामाजिक कार्यको व्यावसायिक विकास, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यलगायतका विषयमा विभिन्न ज्ञानमूलक तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन भएका थिए ।
कार्यशालामा विभिन्न क्षेत्रबाट आउनुभएका विज्ञ तथा Facilitator हरूले आ–आफ्नो अनुभव, ज्ञान र विषयगत विशेषज्ञताका आधारमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । समाजशास्त्री डा. टीकाराम गौतम, शीला थापा, जलवायु अभियन्ता साग्रिका भट्ट, डा. मृगेन्द्र कार्की तथा सरोज गिरीले विभिन्न विषयमा सहजीकरण गर्दै सहभागीहरूलाई सामाजिक परिवर्तन, समावेशिता, नेतृत्व, वातावरणीय चुनौती तथा सामाजिक कार्यका विविध आयामबारे ज्ञान र अनुभव प्रदान गर्नुभएको थियो । विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिताले कार्यशालालाई बहुआयामिक, अन्तरक्रियात्मक र व्यवहारिक बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो ।
कार्यशालाका क्रममा जापानबाट सहभागी प्राध्यापक नात्सुको मिनामिनोले जापानमा लैङ्गिक समानता, महिलाको आर्थिक तथा सामाजिक आत्मनिर्भरता र सामाजिक कार्यको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले महिलाको आत्मनिर्भरता र सशक्तीकरणका लागि सामाजिक कार्यले खेल्नसक्ने भूमिका, लैङ्गिक समानताको प्रवद्र्धन तथा महिलालाई अवसर र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभयो ।
त्यसैगरी, प्राध्यापक मासानाबु ओहाशीले महिला नेतृत्व तथा सन् २०११ को ग्रेट इस्ट जापान अर्थक्वेकपछिको पुनःस्थापना तथा पुनरुत्थान प्रक्रियामा सामाजिक कार्यको भूमिका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले विपद्का समयमा महिला नेतृत्वको महत्व, समुदायको पुनःस्थापना तथा विपद्को अनुभवबाट पुनः उठ्न सामाजिक कार्यकर्ताहरूले निर्वाह गर्ने भूमिकाबारे जापानको अनुभव प्रस्तुत गर्नुभयो । उहाँको प्रस्तुतीकरणले विपद् व्यवस्थापन, समुदायको क्षमता अभिवृद्धि तथा सामाजिक पुनःस्थापनामा अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न सकिने महत्वपूर्ण पक्षहरू उजागर गरेको थियो ।
कार्यशालाको समापन समारोह काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यवाहक प्रमुख डंगोलले सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र बितरण गर्दै सामाजिक कार्यको आफ्नो विद्यार्थी जीवन तथा अनुभवसमेत साझा गर्नुभएको थियो ।
सम्बोधनका क्रममा उहाँले सामाजिक कार्यले व्यक्ति तथा समुदायले सामना गर्ने चुनौतीलाई शक्तिमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सामाजिक कार्यकर्ताहरूले कठिन परिस्थितिमा रहेका व्यक्ति तथा समुदायसँग काम गर्दै उनीहरूमा आशा, आत्मविश्वास र परिवर्तनको सम्भावना सिर्जना गर्ने उहाँको भनाइ थियो ।
कार्यशालाको समापन मन्तव्य राख्दै सोसल वर्कर्स एशोसिएसन नेपालका अध्यक्ष श्री प्रतीक लामिछानेले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विभिन्न देश तथा संस्थाबीच ज्ञान, सीप र अनुभवको आदान–प्रदानमार्फत सामाजिक कार्यको पेशालाई थप सुदृढ र व्यावसायिक बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यशालाले सामाजिक कार्यको क्षेत्रमा मानव संसाधन विकास, आर्थिक आत्मनिर्भरता, महिला नेतृत्व तथा सशक्तीकरण, विपद्पछिको पुनःस्थापना, जलवायु सचेतना तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन् ।
कार्यशाला आगामी दिनमा सामाजिक कार्यको पेशागत विकास, क्षमता अभिवृद्धि, महिला सशक्तीकरण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य...
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु।...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend